विराटनगर- दिनभर तनावग्रस्त बनेको मोरङको पथरी शनिश्चरे नगरपालिकामा रहेको पथरी बजार दिउँसोदेखि सामान्य बन्दै गएको छ ।
शनिवार हत्या गरिएकी रिना बस्नेतको घटनाको सत्यतथ्य बाहिर ल्याउनुपर्ने भन्दै आन्दोलन चर्काएका स्थानीय र प्रहरीबीच पटक-पटक झडप भएको थियो । प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेपछि समस्या जटिल बनेको थियो । झडपका क्रममा पाँच जना घाइते पनि भए । घाइते २ जनाको स्थानीय पथरी हस्पिटलमा उपचार भइरहेको र ३ जनालाई विराटनगर ल्याइएको छ । घटनाको सत्यतथ्य छानबिनका लागि वार्ता टोली बन्ने भएपछि आन्दोलनरत स्थानीयले तत्काल आन्दोलन स्थगन गरेका छन् ।
नगर प्रमुख दीलिपकुमार राईले सम्बोधन गर्दै सबैलाई समेटेर वार्ता समिति बनाउने बताए । आन्दोलनकारीलाई सम्बोधन गर्दै मेयर राईले संघर्षरत पक्ष, नगरपालिका र प्रहरी प्रशासनबीच वार्ता गर्ने टोली गठन गर्ने भन्नेबारे सहमति गरेको जानकारी दिए । मेयरले गरेको सम्बोधनपछि स्थानीयले बिहान ९ बजे देखि बन्द रहेको राजमार्ग खुलाएका छन् ।
प्रहरी कार्यालयमा नगर प्रमुख र उपप्रमुख बसेर वातावरण शान्त बनाउने प्रयास भइरहेको बेला प्रहरीले अश्रुग्यास प्रहार गर्दा समस्या थप बल्झिएको थियो । अहिले पथरीको अवस्था सामान्य छ । सवारी चल्न थालेका छन् भने बजार पसल पनि खुल्न थालेका छन् । लोकान्तर बाट साभार










