काठमाडौं, २७ फागुन । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले भारतीय सुरक्षाकर्मी एसएसबीले एक्कासि फायर चलाउँदा नेपाली नागरिक गोविन्द गौतमको निधन भएको भन्दै कुटनीतिक तरिकाले घटनाको विरोध गरिरहेको जनाएका छन् ।
शुक्रबार बसेको संसदको बैठकमा कञ्चनपुर घटनाका विषयमा जानकारी गराउँदै गृहमन्त्री निधिले छिमेकी राष्ट्रको अनपेक्षित घटनाबाट गोविन्द गौतमले ज्यान गुमाउनु पर्ने अवस्था आएको जनाए । उनले यस घटनालाई कुटनीतिक रुपमा पहल गरेर समस्याको निकास खोजिने बताए ।
गृहमन्त्री निधिले बिहीबार नै आफूले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग टेलिफोनमा कुरा गरेर दोषी उपर कारबाहीको आग्रह गरेको बताए । शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई फोन गरेर पोष्टमार्टमको रिपोर्ट माग गरेको निधिले सदनलाई जानकारी दिए ।
कञ्चनपुरको पुनर्वास नगरपालिकाको वडा नम्बर ८, आनन्दनगरमा दुई पक्षबीचको सहमति अनुसार कच्ची सडकमा कल्र्भट निर्माण गर्ने क्रममा एसएसबीले बुधबार राति निर्माण सामाग्री फालेको र बिहीबार बिहानै नेपाली नागरिकहरू स्वस्फुर्त रुपमा जम्मा भएर प्रदर्शन गर्दा एसएसबीले एक्कासि फायर चलाएको गृहमन्त्री निधिले सदनलाई जानकारी दिए ।
यसैबीच, निधिले सप्तरी घटनामा प्रहरीलाई आक्रमण गर्नुका साथै केही हतियार लुटेर लगेपछि बाध्य भएर प्रहरीले गोली चलाएको सदनलाई जानकारी दिए ।



