पथरी । मोरङको पथरीमा भएको रिना बस्नेतको हत्याको बारेमा ३ दिनभित्र सत्यतथ्य पत्ता लगाउने शर्तमा तत्कालका लागी आन्दोलन स्थगित भएको छ।

मंगलबार बेलुका प्रशासन र संघर्ष समितिका बिचमा भएको छलफलमा सो सहमति भएपछि तत्कालका लागी आन्दोलन फिर्ता लिएको र सडकको अबरोध हटेको हो। घटनामा संलग्न भएको आरोपमा रिनाका प्रेमी भनिएका कमल नेपाल सोमबार साँझ नै पक्राउ गरिसकेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरी र स्थानीय बासिन्दाबीच मंगलबार दिउँसो भएको झडपमा ५ जना स्थानीय घाईते भएका छन । सोही घटनामा टाउकोमा चोट लागी गम्भिर घाईते भएका स्थानीय गोपाल विक र सुदीप राई लाई विराटनगर लगिएको छ भने मन्जु पौडेल,जीतबहादुर लावती र ज्ञानेन्द्र विष्टको स्थानीय अस्पतालमा उपचार भईरहेको छ।

ईलाका प्रहरी कार्यलय पथरी घेराऊ गर्न गएको स्थानीयको भिडलाई तितरबितर पार्न प्रहरीले मध्यान्ह हवाई फायर र दिउँसो २ बजे अश्रुग्याँस प्रहार गरेको थियो।

शनिबार बिहान नग्न अबस्थामा मृति भेटिएकी ब्यबसायी रिना बस्नेतको हत्यामा संलग्नलाई कारबाही र शान्ति सुरक्षाको मागसहित पथरीबासी आन्दोलनमा उत्रिएका थिए। स्थानीयले आन्दोलन जारी राखेपछि प्रहरीले पथरीमा दर्जनौ सेल अश्रुग्याँस प्रहार गरेको थियो।