उदयपुरको सुन्दरपुर शिवाईस्थित त्रियुगा नदीमा पक्की पुल बनाउन थालेको आउँदो असारमा १० वर्ष पुग्दैछ। तर, अहिलेसम्म पुलको १३ मध्ये ९ वटा स्मान मात्र ठडिदैछ। जिल्लाको चौदण्डीगढी नगरपालिका ५ शिवाईस्थित त्रियुगामा मोटरेबल पुल ३ वर्षमा सक्नेगरी ०६७ असार २३ गते सम्झौता भएको हो। ०७० असार २२ गतेभित्र पुल बनाईसकेर हस्तान्तरण गरिसक्नुपर्नेमा ४ पटक म्याद थप्दासम्म सम्पन्न हुन सकिरहेको छैन।
धरान–चतारा–गाईघाट–कटारी–सिन्धुली–हेटौडा जोड्ने वैकल्पिक लोकमार्गसँग चौदण्डीगढी केन्द्र बेलटारसँग दक्षिणी भेगका वडाहरु सुन्दरपुर, हडिया र जोगीदह तथा छिमेकी जिल्ला सप्तरीका फत्तेपुर–कन्चनपुरलाई जोड्ने १३ स्पानको उक्त पुल २ सय ८४ दशमलव ६ मिटर लामो र ५ मिटर चौडाईको प्राविधिक इस्टीमेट छ। स्थानीय सडक सञ्जाल (एलआरएन) प्रविधिमा गाईघाट–दिक्तेल सडक आयोजना कार्यालय गाईघाटद्वारा निर्माणाधीन पुल बनाउने मुख्य जिम्मा महालक्ष्मी/लोकप्रिय जेवी कलंकी काठमाडौंले लिएको छ।
गत वर्षसम्म ९ वटा स्मानको काम सकिएको पुलको काम यो वर्ष २ वटा सुपरस्ट्रक्चर र एउटा सबस्ट्रक्चर फाउण्डेसनको काम भएको छ। निर्धारित समयमा काम नसकिएपछि पटक पटक म्याद थपिएको पुलको पछिल्लो म्याद ०७६ असारसम्म थपिएको छ। यो वर्ष पनि काम सकिने छाँटकाँट नदेखिएको कार्यालयले जनाएको छ। पुल ढिला हुनुको अर्को मुख्य कारण बजेट अभाव हो।हेटौडा खबर










