नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आइतबार बस्ने भएको छ । एकीकरणका वाँकी काम टुङ्ग्याउन सचिवालयको बैठक बस्न लागेको प्रवत्ता नारायणकाजी श्रेष्ठले बताए ।

प्रवत्ता श्रेष्ठका अनुसार यसअघिकै सचिवालय बैठकले पोलीटव्युरो गठन, केन्द्रीय सदस्यको कार्यविभाजन र जनवर्गिय संगठनको एकीकरण प्रस्ताव तयार गर्ने जिम्मा अध्यक्षद्वयलाई दिइएको श्रेष्ठले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘आइतबारसम्म अध्यक्षद्वयले पोलिटव्युरो सदस्यको नामावली, केन्द्रीय सदस्यको कार्यविभाजन र जनवर्गिय संगठनको एकीकरणबारे प्रस्ताव तयार गर्नुहुन्छ । र, सोही दिन बस्ने सचिवालय बैठकले त्यसउपर छलफल गरेर निर्णय गर्छ,’ प्रवत्ता श्रेष्ठले भने, ‘पहिला पोलीटव्यूरो गठन नभै केन्द्रीय सदस्यको कार्यविभाजन हुदैँन ।’

पार्टी एकताको ११ महिनामा बल्ल नेकपाले ७७ वटै जिल्ला अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । त्यसबाहेक सचिवालय, केन्द्रीय कमिटी, स्थायी कमिटी र प्रदेश कमिटी यसअघि नै टुंगाएको थियो । एकताको एक बर्ष पुग्नै लाग्दा एकीकरण धेरै काम अझै वाँकीनै छन् । जसले गर्दा बैशाख महिनाभित्रै एकीकरणका वाँकी काम टुङ्ग्याउने दबाब शीर्ष नेताहरुलाई छ ।

त्यसबाहेक अहिलेसम्म नेकपाको राजनीतिक प्रतिवेदन प्रकाशित भएको छैन । आइतबार बस्ने बैठकले राजनीतिक प्रतिवेदन र विधानबारे पनि छलफल गर्ने प्रवत्ता श्रेष्ठले बताए ।

१४७ सदस्यीय पोलीटव्युरोमा पूर्व एमालेतर्फ ८१ र पूर्व माओवादीतर्फ ६६ सदस्य रहेने यसअघिनै सहमति भैसकेको छ । अहिले तत्कालिन दुवै पार्टीका शिर्ष नेताहरु पोलिटव्युरोमा रहने सदस्यको नामावली छनोटमा जुटेका छन् । पूर्व एमाले तर्फ साविककै ६५ सदस्यीय पोलीटव्युरोमा रहेका स्वत र त्यसबाहेकका नामावली छनोटको गृहकार्यमा नेताहरु जुटेका छन् ।

पूर्व माओवादीतर्फ हाल स्थायी कमिटीका १९ जना स्वत पोलीटव्युरोमा रहेने र त्यसबाहेक ४७ जना सचिवालयबाट छनोट गर्ने गरी नेताहरु होमवर्कमा जुटेको स्थायी कमिटीका एक नेताले बताए ।