(पार्थ मण्डल) झापा । दक्षिणी झापाको कचनकवल गाउँपालिकामा शुक्रवार दिनभर बबाल भएको छ । गाउँपालिकामा कार्यरत कर्मचारीलाई जनप्रतिनिधि र उपभोक्ता समितिका पदाधिकारीहरूले धम्कीपूर्ण भाषामा गाली गलौच गर्न थालेको विषयलाई लिएर गाउँपालिका कार्यालयमा दिनभर बबाल भएको हो ।

शुक्रवार बिहान गाउँपालिकामा बसेको कर्मचारी बैठकमा जनप्रतिनिधि, विभिन्न राजनीतिक दल, उपभोक्ता समितिहरूले धम्कीपूर्ण भाषा प्रयोग गर्दै कर्मचारीलाई गाली गलौच गरेको विषयका कुरा उठेपछि कर्मचारी आन्दोलित भएका थिए । कर्मचारीहरू नै गाउँपालिका विरुद्ध आन्दोलित भएपछि कार्यालयको सेवा प्रवाहमा समस्या उत्पन्न भएको थियो । कर्मचारी नै सेवा काम छाडेर बसेपछि सेवाग्राही घण्टौँ कुर्न बाध्य भए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घटना विवरण अनुसार गाउँपालिका इन्जिनियर अमित ढुङ्गानालाई जनप्रतिनिधिसहित उपभोक्ता समितिका पदाधिकारीले गाली गलौच गरेको घटनाले उग्ररुप लिए ।

कचनकवल ३ स्थित पथरियामा इन्द्र राजवंशीको अध्यक्षतामा गठित उपभोक्ता समितिले गरेको कामको विषयमा इन्जिनियर ढुङ्गानाले चासो देखाए । सो उपभोक्ता समितिलाई गाउँपालिकाले सडक बनाउने काममा २० लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए । तर, इन्जिनियर ढुङ्गानाले सो सडक बनाउने इस्टिमेट १७ लाख रुपैयाँ बनाएको र तीन लाख रुपैयाँ कम गरेको आक्रोशमा समितिका अध्यक्ष राजवंशीले फोन मार्फत धम्कीपूर्ण भाषा प्रयोग गर्दै ढुङ्गानालाई गालीगलौच गरेको बताइएको छ ।

त्यही विषयलाई लिएर गाउँपालिकाका कर्मचारी असुरक्षित भन्दै प्रमुख प्रशासकीय अधिकृत तुलाराज थापा मगरसहितको हस्ताक्षर गरिएको ज्ञापनपत्र गाउँपालिका अध्यक्ष अञ्जार आलमलाई बुझाएका थिए । कर्मचारीले बुझाएको ज्ञापनपत्रमा गाउँपालिकाको उपाध्यक्ष निमसरि राजवंशीको नाम समेत उल्लेख गरिएको छ । गाउँपालिकाले योजनाको काम हेर्न अनुगमन समितिका संयोजक उपाध्यक्ष राजवंशीलाई तोकेको छ ।

उपाध्यक्ष राजवंशीले समेत योजनाका काम कारबाहीको विषयमा इन्जिनियरसहित कर्मचारीलाई गाली गलौच गर्ने गरेको कर्मचारीहरूले आरोप लगाएका छन् । ‘गाउँपालिकाबाट हुने हरेक योजनाका कामको विषयमा जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, उपभोक्ता समितिका पदाधिकारीबाट नै कर्मचारीहरू असुरक्षित महसुस गर्न थालेपछि हामी कर्मचारी आन्दोलित भएका हौँ’, प्रमुख प्रशासकीय अधिकृत थापा मगरले भने, ‘गाउँपालिकाका जनप्रतिनिधिबाटै कर्मचारी असुरक्षित भएपछि कसरी काम गर्ने, त्यही भएर हामीले गाउँपालिकाका अध्यक्ष आलमलाई ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराएको हो ।’

उनका अनुसार तत्काल कर्मचारीले प्राविधिक तहका सम्पूर्ण कामकाज ठप्प पार्ने, कर्मचारीलाई सहज रूपमा काम गर्ने वातावरण बनाइ दिनुपर्ने, गाली गलौच गरेका जनप्रतिनिधि र समिति पदाधिकारीको विषयमा तुरुन्त गाउँपालिकाले छानबिन गर्नुपर्ने लगायतको माग ज्ञापनपत्रमा राखेका छौ । ‘ज्ञापनपत्रमा उल्लेख भएको कुरा सात दिनभित्र पुरा नभए गाउँपालिकाका सम्पूर्ण कामकाज ठप्प पार्ने छौ, उनले थपे ।

यता कर्मचारीले गाउँपालिकाका अध्यक्ष आलमलाई ज्ञापनपत्र बुझाएसँगै उपभोक्ता समितिका अध्यक्ष राजवंशीलाई गाउँपालिकामै बोलाएर इन्जिनियर ढुङ्गाना समक्ष माफी मगाएर घटनालाई सेलाउन खोजियो, भने उपाध्यक्ष काम विशेषले जिल्लाबाहिर रहेको हुँदा उहाँ आएपछि फेरि यस विषयमा छलफल हुने अध्यक्ष आलमले कर्मचारीलाई आश्वासन दिएको बताइएको छ ।