सांस्कृतिक रूपमा पनि टुँडिखेलको ठूलो महत्व छ । परापूर्वकालदेखि राजाहरूले टुँडिखेलमा घोडे जात्रा गर्ने गर्थे । सबै जात्राको थलो टुँडिखेल नै हो । त्यहाँ गुरुमापा छन् भनिन्छ । अहिले पनि टेवाहलका नेवारहरूले प्रत्येक फागुन पूर्णिमामा एउटा सिंगो राँगा त्यहाँ लगेर खुवाउँछन् ।
त्यतिखेर टुँडिखेल निकै फराकिलो थियो । बुढानिलकण्ठदेखि त्रिपुरेश्वरसम्मको भाग टुँडिखेल रहेको कांग्रेस नेता भीमसेनदास प्रधानको भनाइ छ । उनका अनुसार बुढानिलकण्ठ शब्द पछि आएको हो । त्यतिखेर बुढानिलकण्ठलाई नेवारी भाषामा भुजसिंह भन्ने गरिन्थ्यो । टुःख्ययबाट टुँडिखेल भएको हो ।
अहिलेको गंगालाल अस्पतालसम्म टँुडिखेल थियो । टुँडिखेलको वरिपरि बस्ती थियो । असन, इन्द्रचोक, नक्साल, क्षेत्रपाटी जस्ता बस्ती थिए । बस्तीको बीचमा टुँडिखेल थियो । मल्लकालमा राजा प्रताप मल्लले आफ्ना छोरा दिवंगत भएपछि रानीको नाममा रानीपोखरी बनाए । त्यो पनि बीच भागमै बनाए । त्यो बेला रानीपोखरी निकै राम्रो थियो ।
टुँडिखेलको तलतिर त्रिपुरेश्वरमा राजा महेन्द्रले रंगशाला बनाए । रंगशाला बनाउनुभन्दा पहिले त्यहाँ पोखरी थियो । बाँसको घारीमा पोखरी थियो । मान्छेहरू त्यहाँ माछा मार्न जान्थे । राजा महेन्द्रले एकजना आफ्नो मान्छेलाई टुँडिखेलको व्यवस्थापन गर्ने जिम्मा दिए ।
त्यतिखेर तत्कालीन शााही सेनाको भवन अहिलेको सञ्चय कोषको भवनको ठिक पछाडि थियो । धरहराको लाइनमै तत्कालीन शाही सेनाको हेडक्वार्टर थियो । त्यसपछि शाही सेनाको मुख्यालय रंगशालाको पछाडि ल्याइयो । टुँडिखेलको बीच भागमा क्रस गरी बाटो बनाइयो । बाटाको बीचमा सहिदगेट बनाइयो ।
२०१७ सालपछि महेन्द्रले बीपीसँगको सशस्त्र संघर्षमा निधन भएका पञ्चायत पक्षधर सेनाको सम्झनामा सैनिक मञ्च बनाए । त्यतिखेर महेन्द्रले खुलामञ्च र रत्नपार्क बनाए । रानीपोखरीबाट भोटाहिटी जाने अर्को बाटो पनि त्यतिबेला नै बनाए । टुँडिखेललाई खण्डीकरण गर्ने काम राजा महेन्द्रले गरेको नेता प्रधानको भनाइ छ ।
महेन्द्र अगाडि नै राणाहरूले टुँडिखेललाई कब्जा गरी ठूल्ठूला दरबार बनाइसकेका थिए । चाहे शीतल निवास वा अहिलेको शंकर होटल । केशरमहल पनि टुँडिखेल कब्जा गरेर राणाहरूले बनाएका थिए । टुँडिखेललाई प्रत्येक सरकारले अतिक्रमण गरेका थिए ।
राणाहरूले नै टुँडिखेलमा भाषण गर्न एउटा गोलो स्टेज बनाएका थिए । त्यसलाई चाक्लासीमा भनिन्थ्यो । त्यो ठाउँमा अहिले सैनिक मञ्च बनाइएको छ ।
पञ्चायतकालमा गणेशमान सिंहलगायतका आन्दोलनकारीहरूले टुँडिखेलमा भाषण गर्थे । चाक्लासीमा हटाइएपछि भाषण गर्न खुलामञ्च बनाइएको हो । पछि जनताले आन्दोलन र भाषण गर्न खुलामञ्चलाई प्रयोग गर्न थाले ।
जनमतसंग्रह, सत्याग्रह जस्ता आन्दोलनमा खुलामञ्चमा भाषण गरिएको थियो । यसैगरी २०४६ सालको आन्दोलनको उद्घोषण र समापन पनि त्यहींबाट भएको थियो । २०४६ सालको आन्दोलनपछि खुलामञ्चलाई सहिद मञ्चको नामाकरण गरिएको हो । यता सैनिक मञ्च, उता सहिद मञ्च भयो । त्यही खुलामञ्च अहिले अतिक्रमणमा परेको छ ।










