सोलुखुम्बुको सोताङ गाउँपालिका-४ रोक बस्ने २ जना दाजु-भाईको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने ज्ञान बहादुर राईको छोरा बर्ष २१ को बाल कुमार राई र निजकै भाई बर्ष १७ को मानबीर राई रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
शनिवार साँझ सोही ठाउँमा रहेको रोक खोलामा पाहा टिप्न गएका दाजु-भाई रातीसम्म घर फर्केर नआए पश्चात स्थानीयहरुले खोजी गर्ने क्रममा आज बिहान साढे १० बजे भाई मानबीरको शव खोलाको दहमा डुबिरहेको अबस्थामा फेला पारेका थिए । भाईको शव दहबाट निकालेर दाईको खोजी गर्ने क्रममा फेला नपरे पश्चात स्थानीयले प्रहरीमा खबर गरेका थिए ।
घटनाको जानकारी पश्चात खोजतलासमा खटिएको प्रहरी टोलीले बालकुमार राईको शव आज दिउँसो सवा २ बजे सोही खोलाको १५ मिटर तल छाँगो मुनि दहमा फेला पारेका थियो । घटनास्थलमा सम्पूर्ण कानूनी प्रकृया पश्चात शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाईने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । औजार न्यूज बाट साभार










