काठमाडौं । चर्चित नायीका रेखा थापाले देश परिवर्तनका लागि आवाश्यक परे आफु मर्न पनि तयार रहेको बताएकी छन् । आइतबार काठमाडौंमा ‘नो ट्याक्स नो एनसेल’ अभियानका बिषयमा आयोजित अन्तर संवाद कार्यक्रममा बोल्दै उनले सो धारणा राखेकी हुन् ।

देशमा परिवर्तनको खाँचो औंल्याउदै नायीका थापाले भनिन्,“हाम्रा पुर्खाहरु देश र परिवर्तनका लागि सहिद बने, आज पनि देशमा क्रान्तिको आवश्यकता देखिएको छ । म त मर्न पनि तयार छु । सबै जनता तयार हुनुपर्छ, अन्यथा देश यथास्थानमै रहने छ ।” नेपालमा हरेक कुरामा फिक्सिङ हुने गरेको बताउदै ,थापाले एनसेल करछली प्रकरणमा पनि उच्च पदस्थ कर्मचारीदेखि राजनीतिक नेतृत्वको मिलेमतो रहेको आरोप लगाइन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले यस्तो अवस्थामा जुनसुकै सर्तमा पनि सरकारलाई एनसेलबाट कर असुल्न जनताले दबाब दिनुपर्नेमा जोड दिइन् । भ्रष्टाचार र व्यथितिका विरुद्ध बोल्ने व्यक्तिलाई विभिन्न किसिमको ट्याग लगाउने गरिएको भन्दै उनले सरकारलाई प्रश्न गरिन्,“उता गाउँमा सिटमल नपाएर गरिब जनताको मृत्यु भइरहेको छ । सामान्य अस्पताल बनाउन चन्दा उठाउनु पर्ने अवस्था छ । यता एनसेलले अर्बौं कर तिर्न मानिरहेको छैन, कसले संरक्षण गरिरहेको छ ?”

पुराना पार्टी र नेताहरु पूर्णरुपमा असफलसिद्ध भइसकेको भन्दै बदलिएको परिस्थितिमा सक्षम र उपयुक्त नयाँ विकल्पको खोजि गरिनुपर्ने थापाको भनार्इ छ । साथै सत्यको पक्षमा खुट्टा नकमाएर दह्रोसँग उभिन युवाहरुलाई आग्रह गरिन् । कार्यक्रममा बोल्दै अभिनेत्री थापाले एनसेलले अर्बौ रकम पूँजीगत लाभकर नतिरेको भन्दै त्यसविरुद्ध सबै नेपाली बोल्नुपर्ने बताइन् ।