धनुषा । यहाँको एउटा विद्यालयले जन्ती राख्नका लागि पठनपाठन बन्द गराएको छ । नगराइन नगरपालिका–७, देबडिहास्थित राष्ट्रिय निम्न माविले वडाध्यक्ष रामदुलार मुखियाको सिफारिसमा बैशाख १३ र १४ गते बिदा दिएको हो।
नयाँ शैक्षिक सत्र सुरु भएपछि मात्रै जन्ती राख्नैका लागि ६ दिन विद्यालय बन्द भइसकेको छ। यसअघि वैशाख ३ र ४ तथा ११ र १२ गते बिदा दिइएको थियो। तीनै पटक वडाध्यक्षको लिखित सिफारिसमा बिदा दिइएको प्रधानाध्यापक प्रेमलाल पासवानले बताए। ‘गाउँमा छोरीको विवाह हुँदा स्थानीयले विद्यालयमै जन्ती राख्ने गरेका छन्,’ पासवानले भने।
कक्षा ८ सम्म पढाइ हुने यो विद्यालय नगराइन नगरपालिकाको ७ र ८ वडाको बीचमा पर्छ। दुवै वडाका स्थानीयले वडाध्यक्ष मुखियाको सिफारिस ल्याउने गरेको पासवानले बताए।
शिक्षक बिल्टु मण्डलका अनुसार जन्ती राख्न विद्यालयले नमानेपछि स्थानीयले वडाध्यक्षको लिखित सिफारिस ल्याएका हुन्। जन्ती राख्दा पटक–पटक विद्यालय बन्द गर्नुपरेको उनले बताए। ‘जन्तीले विद्यालय परिसरमै मदिरा सेवन गरेर खाली बोतल फाल्ने, खाजाका प्याकेट, चिया गिलास, पराललगायत फोहोर फाल्छन्,’ उनले भने, ‘जथाभावी शौचसमेत गरिदिन्छन्।’
नगराइन नगरपालिका–१ को आधारभूत विद्यालय हाँसपट्टी र लक्ष्मीनियाँ गाउँपालिका–३ को जनता निमाविमा पनि विद्यालयमै जन्ती राखेर भोजभतेर गर्ने गरिएको छ । विद्यालयमा जन्ती राख्दा विद्यार्थीलाई मनोवैज्ञानिक असर परेको स्थानीय बताउँछन्।
गाउँलेका छोरीको विवाहमा आउने जन्ती राख्न ठाउँ नभएकाले विद्यालयमा राख्नुपरेको नगराइन नगरपालिकाका–७ का अध्यक्ष मुखियाले बताए।
उनका अनुसार राष्ट्रिय निमाविले अभिभावकसँग छलफल गरी वैशाख १५ गतेपछि विद्यालयमा जन्ती राख्न नपाउने निर्णय गरिसकेको छ। नगराइन–८ का अध्यक्ष सञ्जय राउतले विद्यालयमा जन्ती राख्न नदिन पहल थालेको जनाए।
प्रदेशका ८ वटै जिल्लाका सामुदायिक विद्यालयमा जन्ती नराख्न परिपत्र गरे पनि सुधार नभएको प्रदेश २ शिक्षा निर्देशनालयका निर्देशक रामाकान्त शर्माले बताए। पटक-पटक बन्द गरेको पाइएपछि विद्यालयमा जन्ती नराख्न पत्राचार गरिएको उनले बताए।आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।



