काठमाडौं। पाल्पामा सोमवार साँझ भएको जन्ती बस दुर्घटनामा अनुसार बेहुलाबेहुली बाँचे पनि बेहुलाले दुर्घटनामा बाबु भने गुमाएका छन् । बेहुला श्यामबहादुरका बाबु सन्तबहादुर सारुको दुर्घटनामा मृत्यु भएको हो ।

दुर्भाग्यवस हिजो जग्गेमा रहेका बेहुला आज बाबुको मलामी र किरिया क्रमको कुनोमा बस्नुपर्ने भएको छ । हिजो जन्ती जानेहरु सबै जना रातैभर शव निकाल्नेदेखि तानसेनसम्म पुर्याउने काममा खटे । जीप भिरवाट तल खसेकाले शवहरु भिरमा अड्कीएका थिए । रातीमा शव निकाल्न सक्ने अवस्था नभएकाले दुर्घटनाबाट बाँचेकाहरुले रातभरी बाटोमै शव कुरेर बसे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मङ्गलबार बिहान हिजोका जन्तीहरु पहिला शव बुझ्न तानसेन र त्यसपछि मलामी जाने तयारीमा रहेको उनै वडा सदस्य लालबहादुर सारु बताउँछन् । सोमवार सांझ जन्ती चढेको जीप दुर्घटना हुँदा पांच जनाको मृत्यु भएको हो ।पाल्पाको निस्दी गाउँपालिका–७ हुवासबाट बेहुली लिएर फर्कंदै गरेको जिप भिरपानीमा दुर्घटना दुर्घटना भएको हो ।

दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । लु१ज १९४१ नम्बरको बेहुलाबेहुली सवार जिप दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार दुर्घटनामा निस्दी गाउँपालिका(७ का ५७ वर्षीय सन्तबहादुर सारु सोही ठाउँका ५५ वर्षीय देवीलाल खन्गाह, ४५ वर्षीय खड्गबहादुर सोमै, ४५ वर्षीय लालबहादुर सारु र चालक बुद्धिबल सोतीको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक भूपालसिंह रानाले जिप अनियन्त्रित भर्इ सडकबाट चार सय मिटर तल खसेको जानकारी दिए ।

दिनैभर बेहुलीको घरमा खानपिन र डेक बजाएर नाचगान सकेर जन्ती फर्किए। जन्ती बिदाइ गरेपछि सबैजना ४ बजेतिर गाडीमा चढे । संयोग नै मान्नुपर्छ– बेहुलाबेहुली नजिकै भएकाले हामी हिँडेर आउँछौैँ, तपाईंहरु जानुस् भनेर गाडीमा चढेनन् । गफ गर्दै आउने मनासायले पनि उनीहरु दुर्घटनाबाट बचे । उनीहरु मात्रै बचेनन् गाडीमा सवार भएका अरू १४, १५ जना पनि बाँच्न सफल भए ।

प्रत्यक्षदर्शी लालबहादुर सारु भन्छन्, ‘अफ्ठ्यारो बाटो छ, ओर्लिनु पर्यो भनेर मसहित त्यस्तै १४, १५ जना जति ओर्लिएर बचेका हौँ । बुढापाकाहरु ओर्लिएनन् । तर दुर्भाग्य दुलहीको घरबाट हिँडेको आधा घण्टा नवित्दै जिप भीरबाट पल्टियो । हामी जिपमा नचढेकाहरु नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको सहायताले त्यहीँ बस्यौँ र उनीहरुसँगै शव माथि ल्याउन खटेका थियौँ ।’ उनका अनुसार बेहुलाबेहुली बाँचे पनि उनीहरुले दुर्घटनामा बाबु भने गुमाएका छन् । बेहुला श्यामबहादुरका बाबु सन्तबहादुर सारुको दुर्घटनामा मृत्यु भयो ।

हुवास गाउँका २२ वर्षीय श्यामबहादुर सारु र सोही गाउँपालिका वडा नम्बर ४ मित्याल भीरपानी गाउँकी अन्दाजी २२ वर्षीया लालमाया वयाम्बु मगर (सारु) बीच लामो समयदेखिको प्रेम सम्बन्ध थियो । एक हप्ताअघि प्रेम विवाह गरेका श्यामबहादुरको विधिवत विवाह सोमबार मात्रै हुँदै थियो ।