काठमाण्डु, १७ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार जग्गा प्रकरणमा मुछिएका नेकपा महासचिव विष्णु पौडेलको बचाउ गरेका छन् । नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले पौडेलबारे भ्रम फैलाइएको बताएका हुन् ।

पौडेलले पदीय दुरुपयोग गरेर जग्गा नजोडेको दाबी गर्दै नेकपा अध्यक्ष समेत रहेका ओलीले भने, ‘राजाको शासनका बेला उहाँले जमिन किन्नु भएको रहेछ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्री निवास बालुवाटार (ललिता निवास) सँगै जोडिएको आठ आना सरकारी जग्गा पौडेलका छोरा नवीनको नाममा देखिएपछि नेकपा भित्रबाटै पौडेलको आलोचना भइरहेका बेला प्रधानमन्त्रीले पार्टी र सरकारलाई कमजोर बनाउन महासचिवमाथि आक्रमण भएको बताए ।

महासचिवमाथि आक्रमण गरेर पार्टी र सरकार कमजोर बनाउन खोजिएको पनि उनले दाबी गरे ।

‘पार्टी र सरकारलाई कमजोर बनाउन महासचिवमाथि आक्रमण गरिएको हो,’ ओलीले भने, ‘महासचिवलाई लान्छना लगाउने काम भयो ।’

सरकारी जग्गा व्यक्तिको नाममा ल्याउनेहरुको खोजि भइरहेको भन्दै प्रधानमन्त्री ओलीले क-कसले सरकारी जग्गा हडपेका छन् सरकारले अध्ययन गरिराखेको बताए ।

‘जहाँसुकै हडपिएको जग्गा सरकारले फिर्ता ल्याउँछ,’ उनले भने, ‘कसलाई नाफा हुन्छ या कसलाई नोक्सान हुन्छ केही हेरिँदैन । सरकारले सत्यत्थ्य बाहिर ल्याउँछ ।’