बैशाख १८, २०७६
जनकपुरधाम- धनुषाको मुखियापट्टी मुसहर्निया गाउँपालिकामा तस्करहरूको समूहले प्रहरी सहायक निरीक्षकको पेस्तोल लुटेर भागेका छन् ।
बुधवार बिहान २ बजेको समयमा तस्करहरूको समूहले गस्तीमा रहेका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक प्रमोद कुमार साहसँग रहेको चाइनिज पेस्तोल १ थान र त्यसको म्यागेजिन समेत लुटेर लगेका छन् ।
भारतमा अवैध रहेको रक्सी तस्करी गर्ने गरेका समूहले पेस्तोल लुटेको हो । घटना सन्दर्भमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले पनि पुष्टि गरेका छन् । घटनास्थलमा अर्का डीएसपी ज्ञान कुमार महतोको नेतृत्वमा प्रहरीको टोली परिचालन भएको कार्कीले बताए ।
घटनास्थलमा अनुसन्धानका लागि पुगेका डीएसपी महतोको मोबाइल अफ छ । यता जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालसँग सम्पर्क गर्दा उनको पनि मोबाइल उठिरहेको छैन । स्रोतका अनुसार करीब १ दर्जनको संख्यामा तस्करहरू थिए । तस्करलाई प्रहरीले रोक्न खोज्दा उल्टै प्रहरीको हतियार लुटेर फरार भएका थिए । अहिले त्यहाँ तनाव उत्पन्न भएको छ । घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । लोकान्तर











