काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले देशको तीनै तहको सरकारले समन्वय गरेर मकवानपुरगढीको संरक्षणमा र सम्बद्र्धन गर्नुपर्ने बताएकी छिन्।बुधबार ऐतिहासिक मकवानपुरगढीको भ्रमणपछि हामीसँग कुरा गर्दै उपसभामुख तुम्बाहाम्फेले सानैदेखि सुन्दै र पढ्दै आएको भए पनि ऐतिहासिक गढीको पहिलोपटक अवलोकन गर्ने अवसर मिलेको बताईन्।

उनले भनिन्, “मध्यकालीन नेपालको कालीगढी नमूना मकवानपुरगढी देशको सम्पत्ति हो, यो हाम्रो इतिहास हो, इतिहास भनेको सम्पत्ति हो, हामी सबै मिलेर यसको संरक्षण गर्नुपर्छ।”

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गढी अवलोकनमा सँगै आउनुभएका प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले मकवानपुरगढी देशका गढीमध्ये महत्वपूर्ण गढी भएको र यस वरिपरिका शाखा गढीको पनि उत्तिकै महत्व रहेको बताउँदै यसको ऐतिहासिक महत्वअनुसार संरक्षण गरेर छिमेकी मुलुक भारत तथा चीनका समेत पर्यटक आकर्षित गर्न सकिने बताए। गढीको संरक्षण र विकासका लागि प्रदेश सरकारले योजना निर्माण गरिरहेको उनको भनाइ थियो।

त्यस्तै प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले मकवानपुर आएका जो कोहीलाई मकवानपुरगढीले आकर्षित गर्ने बताए। गढीको विकासका लागि प्रदेशले गुरुयोजना बनाएर काम गर्नुपर्ने उनको भनाइ थियो।

सङ्घीय सरकारले समेत महत्व दिएको देशका १०० गन्तव्यमध्ये एक मकवानपुर गढीको प्रचारप्रसार गरेर पर्यटक भित्र्याउन सकिने उहाँको धारणा थियो । वंशगोपाल मन्दिरसमेत रहेको गढीमा ठूली एकादशी, कृष्ण जन्माष्टमी लगायतका पर्वमा मेलासमेत लाग्ने हुँदा धार्मिक पर्यटक आकर्षित गराउन सकिने उनको भनाइ थियो।

भ्रमण टोलीमा रहेका प्रदेशसभा सदस्य तथा नेकपा प्रमुख सचेतक  रामेश्वर फुयाँलले नेपाली सेनाले आफ्नो रणकौशलमार्फत् विदेशी सेनालाई हार खुवाएको भूमि मकवानपुरगढीको मौलिक व्यवस्थापन गरिनुपर्ने बताए।

विभिन्न भाषामा मकवानपुरगढीको प्रचारप्रसारका सामग्री निर्माण गरेर देश विदेशमा चिनाउनुपर्ने उनको भनाइ थियो। भ्रमणमै रहेका प्रदेश नं ३ का प्रदेश नीति तथा योजना आयोगका सदस्य श्याम बस्नेतले मकवानपुरगढीलाई प्रदेश सरकारले अत्यन्तै महत्वपूर्ण ऐतिहासिक धरोहरका रुपमा विकास गर्ने योजना रहेको बताए।