कैलाली, १९ बैशाख । कैलालीको घोडाघोडी नगरपालिका–३ मा रहेको कालिका सामुदायिक वनमा दुई शव फेला परेको छ । उक्त शव घोडाघोडी नगरपालिका–३ का २३ वर्षका शिवराज चौधरी र जोशीपुर गाउँपालिका पिपरकोटकी २५ वर्षकी निर्मला चौधरीको रहेको बताइएको छ । दुवैले विष सेवन गरी आत्महत्या गरेको हुनसक्ने आशङ्का प्रहरीले गरेको छ ।
शव परीक्षणका लागि धनगढी पठाइएको सुखड इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए । शवमा कीरा समेत पर्न थालेकाले केही दिनअघि आत्मत्या गरेको हुनसक्ने बताइएको छ ।
केही दिनअघि एक महिलाले माइती पक्षलाई फोन गरी श्रीमानको कुटाइको पीडा सहन नसकी आत्महत्या गर्दैछु भनी जानकारी गराएको भन्दै केही व्यक्तिले खोजी गरेका थिए । ती महिला यिनै निर्मला चौधरी हुनसक्ने अनुमान गरिए पनि यकिन नभएको भन्दै यसबारे थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।











