विनासकारी भूकम्पले भत्किएको धरहराको पुनर्निर्माण चलिरहेको छ । गएको पुस २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेयता अहिलेसम्म झण्डै १२ प्रतिशत धरहरा पुनर्निर्माणको काम सकिएको छ । पुनर्निर्माणको जिम्मा पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार नयाँ धरहराको जगको काम अन्तिम चरणमा पुगेको छ ।

भूकम्पले भत्काएको धरहराको ठूटोको आडैमा बन्दै गरेको नयाँ आधुनिक धरहराको जगमा मात्रै ४२ करोड खर्च भएको धरहरा पूनर्निर्माण विज्ञ समिति सदस्य राजुमान मानन्धरले जानकारी दिए । उनका अनुसार काममा ढिलाइ नगरी आगामी सन् २०२० अक्टोबरसम्म निर्माण सक्ने लक्ष्य राखिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तर, धरहराको क्षेत्र बिस्तार गर्न गोश्वारा हुलाकको कार्यालय र राष्ट्र बैंकको टक्सार कार्यालय अझैसम्म भत्काइएको छैन । हुलाक कार्यालयलाई बबरमहलमा सारेर अबको डेढ महिनाभित्र उक्त क्षेत्र निर्माण कम्पनीलाई प्रदान गरिने मानन्धर बताउँछन् । त्यसैगरी काठमाडौं मल समेत भत्काएर धरहरा क्षेत्रलाई फराकिलो पार्ने प्राधिकरणको योजना छ । नयाँ बन्ने धरहरा अत्याधुनिक हुने यसअघि सार्वजनिक डिजाइनमा उल्लेख छ ।