भैरहवा, २९ फागुन । एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकारलाई देशका जनतासँग कुनै मतलब नरहेको आरोप लगाएका छन् ।
मेची–महाकाली राष्ट्रिय अभियान अन्तर्गत आइतबार भैरहवामा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘जनतासँग यो सरकारलाई कुनै मतलब छैन । अन्तैका प्रभु रिझाउन व्यस्त छ । देशभक्त र विकासप्रेमी सरकार हटाएर बनेको यो सरकारले मुलुकका लागि कुनै काम गरेको छैन ।’
अध्यक्ष ओलीले मधेसका नाममा राजनीति गर्न चाहनेहरू त्यहाँका जनतालाई मराउन चाहेको बताए । । त्यसरी मारिनेहरू हाम्रै भाइछोराहरू हुन् भन्दै उनले तिनलाई बिनाकारण मराइएको बताए ।
‘भारतीय सीमा सुरक्षा बल नेपाल पसेर नेपालीहरूमाथि गोली हान्दा सरकार चुइक्क बोलेको छैन, थर्कमान छ । नेपालभित्र आएर नेपालीमाथि गोली हानियो’, ओलीले भने, ‘यता आफ्ना प्रहरीमाथि आक्रमण गर्नेहरूमाथि कारवाही गर्दा प्रहरी अधिकारीहरूमाथि नै कारवाही गरियो ।’
उनले काम गर्ने हिम्मत छैन भने सरकारमा किन बस्ने भनेर प्रश्न समेत गरेका छन् । ‘यस देशलाई नोक्सान गर्न जडान गरिएको सरकारले देशको हित गर्न सक्दैन । जनताको यो उपस्थितिले देखाउँछ, सरकार हामी चलाउँछौँ ।’
‘यो सरकार नेपाल र नेपालीको होइन । विधिवत् रुपमा त संसदबाट बनाए जस्तो देखिन्छ । तर, चारतिर फर्केकाहरूलाई एउटै ठाउँमा ल्याएर टाउको जुधाएर मित लगाउने काम अर्कैले गरिदिएको छ’, उनले भने ।
ओलीले मोर्चाका नेताहरू एमालेलाई तराई पस्न नदिने भनेकोमा पनि आक्रोशित भएका छन् । उनले भने, ‘नयाँ शक्ति नामक भ्रष्ट बुद्धिजीवीहरूको संस्थाले पनि एमालेमुक्त नेपाल भनेर ट्वीट गरेछ । कसको दाना खाएर उनीहरू यस्तो गर्दैछन् ? नेपाल देशव्यापी छ, नेपालीव्यापी छ । हामीलाई कुनै ठाउँमा जानबाट कसैले रोक्न सक्दैन ।’
सभालाई सम्बोधन गर्दै उपाध्यक्ष वामदेव गौतमले वर्तमान सरकारले मुलुकलाई विभाजनतर्फ लैजान खोजे पनि त्यो कुनै हातमा पूरा नहुने बताए । उनले भने, ‘अहिले संविधान असफल पार्न खोजिएको छ । समयमा संविधान कार्यान्वयन हुन नदिने योजना छ । ठीकै छ, त्यो सफल पनि होला । तर, यो देश असफल हुन सक्दैन, हुन दिइँदैन । संविधानको इतिहास साढे छ दशकको छ तर यो देशको इतिहास चार हजार वर्षको छ ।’



