वीरगन्ज । वीरगन्ज महानगरपालिकाको सुखचैना(लालपर्सा सडकखण्डको सिर्सिया खोलामाथि निर्माणाधीन पक्की पुलको म्याद ४० महिनाअघि नै समाप्त भइसकेको छ । सपना निर्माण सेवा कम्पनीले ०७१ असार २९ मा दुई वर्षभित्र पुल निर्माण गर्ने सम्झौता गरेको थियो । हेटौंडास्थित सडक डिभिजन कार्यालयका अनुसार २ करोड ४९ लाख रुपैयाँमा निर्माण हुने उक्त पुलको भौतिक प्रगति हालसम्म ६९ प्रतिशत मात्र छ ।

यसैगरी, महानगरको इटियाहीदेखि मनियारी जाने सडकमा सिर्सिया खोलामै निर्माण भइरहेको पुलको प्रगति ५० प्रतिशत छ । ०७६ असारसम्म सक्नुपर्ने पुलको अहिलेसम्म जग मात्र हालिएको छ । डीएस मोना जेभीले ०७३ असार ३१ मा तीन वर्षभित्र बनाउने गरी सम्झौता गरेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

झण्डै ६ वर्षअघि नै निर्माण भइसक्नुपर्ने तिलावे खोलाको पुलमा ३५ प्रतिशत मात्र काम भएको छ । सडक विभागले ०६८ साउन २७ मा पर्साकै पप्पु कन्स्ट्रक्सनसँग ०७० साउन २७ सम्ममा पुल निर्माण सम्पन्न गर्ने सम्झौता गरेको थियो । ३ करोड ३१ लाख रुपैयाँ लागत अनुमान गरिएको उक्त पुलको ठेक्का पप्पुले २ करोड १४ लाख रुपैयाँमा सकार गरेको थियो । जिल्लाको ठूलो खोला मध्येको एक तिलावेमा पुल निर्माणका लागि स्थानीयले सरोकारवाला निकायसँग वर्षौ हारगुहार गरेपछि पुल निर्माणको योजना आएको थियो ।

राष्ट्रिय वनक्षेत्रबाट आउने उक्त खोलामा सामान्य वर्षामा समेत पानीको बहाव बढने गरेको छ । पटक पटक ताकेता गर्दापनि ठेकेदारले निर्माण प्रति चासो नलिएको सडक डिभिजन कार्यालयका प्राविधिकले जनाएका छन् । डिभिजन प्रमुख सुमन योगेशले तिलावे पुल निर्माण गर्ने ठेकेदारको काम सन्तोषजनक नभएको बताए ।

पछिल्लो समय जिल्ला प्रशासन कार्यालय पर्साले लामो समयदेखि काम नगरी आयोजना अलपत्र पार्ने निर्माण कम्पनीलाई कारबाही अभियान थालेको छ । जिल्लाभरिका आयोजनाको विवरण लिएर प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई शुक्रबार बिहान अनुगमनमा निस्किएका थिए । सडक डिभिजन कार्यालयका प्राविधिकलाई साथमा लिएर उनी आयोजना स्थलमा पुगेर ठेकेदारसँग कहिलेसम्म निर्माण सकाएर हस्तान्तरण गर्ने भनी सोधपुछ गरेका थिए ।

प्रजिअ भट्टराईले गत सोमबार ठेकेदार र भौतिक पूर्वाधर आयोजनाका कार्यालय प्रमुखको भेला बोलाई विकासको काम सूचारु गराउने सम्बन्धमा छलफल गरेका थिए । यस अघि उनले काम अलपत्र परेका चौरसिया निर्माण कम्पनीका सञ्चालक धिरज चौरसिया र पप्पु कन्स्ट्रक्सनका प्रतिनिधी सुशील ठाकुरलाई नियन्त्रणमा लिएका थिए । आफूले सकार गरेका आयोजनाको निर्माण कार्य सुचारु गर्ने प्रतिवद्धता जनाएपछि चौरसिया र ठाकुरलाई छाडिएको थियो ।

निर्माण कार्य समयमा सम्पन्न नहुँदा राज्यलाई चौतर्फी घाटा भइरहेको भन्दै काम नगर्ने ठेकेदारालाई मुलुकी अपराध संहिता ऐन ०७४ को दफा १२४ बमोजिम कारवाही गरिने प्रजिअ भट्टराईले बताए । कामै नगर्ने ठेकेदारको ठेक्का रद्द गरी कालो सूचीमा राख्न सिफारिस गर्न सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशनसमेत गरेका छन् ।

नेपाल निर्माण व्यवसायी संघ पर्साका अध्यक्ष रमाकान्त चौरसियाले विगतमा यस्तो कडाइ नभएकाले ठेकेदारहरू सुस्त बनेको स्विकारे ।

सघन सहरी विकास कार्यालय प्रमुख राजेन्द्र खतिवडाका अनुसार क्षमताभन्दा बढी ठेक्का लिएकाले निर्माण कम्पनीलाई समस्या भएको हो । क वर्गको निर्माण कम्पनीले ठेक्का लिएर पेटी कन्ट्रयाक्टमा साना निर्माण कम्पनीलाई ठेक्का दिँदा बढी समस्या सिर्जना भएका छन् । शंकरसरैया, भेडियारी र पटेर्वासुगौलीमा अलपत्र परेका स्वास्थ्य चौकी भवनको ठेक्का रद्द गर्ने प्रक्रियामा पुगेको खतिवडाले बताए ।