-सर्मिला बुढाथोकी-

दोलखा । दोलखा प्रहरीको सक्रियतामा बुधवार एकैदिन दुई वटा बालविवाह रोकिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ८ मलेपुमा १७ वर्षीया बालिकासँग २२ वर्षको युवकको विवाह हुन लागेको थियो । उक्त जानकारी पाएपछि इलाका प्रहरी कार्यालय सिंगटीबाट गएको प्रहरी टोलिले त्यसलाई रोकेको प्रहरी निरीक्षक सुञ्न्जित तमाङले बताए ।

लामिडाँडा गाउँका ति युवकसँग १७ वर्षीया बालिकाको विवाह रद्द भएपछि बुधबार नै केटा पक्ष र केटीपक्षको सहमतिमा युवकको विवाह २० वर्ष उमेर पुगेकी बालिकाको दिदीसँग गरिएको प्रहरीले जानकारी दिएको छ ।

यसैगरी बुधबार नै मेलुङ गाउँपालिका वडा नम्बर १ मा १५ वर्षको बालक र १६ वर्षकी बालिकाबीच हुन लागेको विवाह पनि प्रहरीले रोकेको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक बासुदेव पाठकले उमेर नपुगी विवाह हुन लागेको जानकारी पाएपछि प्रहरीले रोकेको जानकारी दिए ।

मुलुकी अपराध संहिता ऐनको दफा १७३ मा बीस वर्ष उमेर नपुगी विवाह गरेको विवाह स्वत बदर हुने र कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्मको कैद र तीस हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।महिलाखबर