प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले स्वप्नद्रष्टा बन्ने धाउन्नमा सरकारले भुइँ छोडेको बताएका छन्। सरकारले प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रमको छलफलमा आइतबार रिजालले सरकारले प्रस्तुत गरेका आश्वासन र आँकडा वास्तविकताभन्दा रहेको बताए।

‘सरकार स्वप्नद्रष्टा हुनुपर्छ। तर आत्मप्रंशसामा रमाउने हुनुहुन्न,’ रिजालले भने, ‘यही संसदमा एक वर्षअघि सँगै हिन्द महासागरमा जाउँला भनेर निमन्त्रणा दिने सांसदलाई पनि सम्झन चाहन्छु। हिन्दमहासागर जाने सपना कहाँ पुग्यो?’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले नै २०१८ भित्र पानीजहाज ल्याउँछु भनेकाले २०१८ को अन्तिम दिन पानीजहाज कहाँ रैछ भनेर हनुमाननगरमा हेर्न गएको बताए।

‘एक महिनापछि यहाँ टिकट बेच्ने कार्यालय खुलेको खबर पाएँ। पानीजहाजको कार्यालय खोलेर पानीजहाज हिन्द महासागरसम्म पुग्दैन,’ रिजालले भने, ‘हामी भुइँमा टेक्यौं।’

यसअघि गत वर्षको नीति तथा कार्यक्रमको छलफलमा बोल्दै नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले पानीजहाजमा हिन्दमहासागर जान निम्तो दिएका थिए।

‘हत्तपत्त नाउ चढ्न नपाउने पहाडबाट आएको म अचेल कोशी हुँदै गंगा हुँदै हिन्द महासागर पुगेको सपना देख्न थालेको छु। यस्तो सपना देख्नु अचम्म होर!,’ नेम्वाङले भनेका थिए,‘ कोशीबाट पानीजहाज चढेर महासागर जान अहिले नै आग्रह गर्छु। निम्ता गर्छु म संशोधन राख्ने मेरा माननीय मित्र मीनेन्द्रलाई। तपाईंकै मोरङ, सुनसरी छेउबाट हामी पानीजहाज चढेर किन नजाने?’ आइतबारको छलफलमा बोल्दै रिजालले सरकारले गणतन्त्र जोगाउनेमा शंका उत्पन्न भएको पनि बताए।

राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा मेरो सरकार भनेर टिप्पणी गरेपछि प्रतिपक्षी कांग्रेसले सरकार माथि हमला गरेको हो।

रिजालले विगतमा श्री ५ को सरकार भएजस्तै गरी सम्बोधन गरिएको र बेलायती साम्राज्य फैलिएका 'कमनवेल्थ; राष्ट्रको उदाहरण दिएकोमा आपत्ति जनाए।

‘२०६४ पछि गणतन्त्र लेखेपछि त्यतिबेला देखि मेरो सरकारको चलन गयो', रिजालले भने, 'राष्ट्रपतिले अघिल्लो बर्षपनि यस सरकार भन्ने गर्नु भएको थियो। भाषागत कुरा मात्र होइन। शैलीको कुरा मात्र होइन। प्रधानमन्त्रीज्यू राष्ट्रपतिलाई सम्मानित संस्थालाई आम नागरिकको आलोचनाको पात्र नबनाउनुहोस्। गणतन्त्र प्रतिको जनताको विश्वासलाइ किल्चेर हिँड्ने काम नगर्नुस्।’

उनले घण्टौँ ट्राफिक जाममा पर्खने जनता, बीसौँ तिसौँ मिनेट हवाइ बाटोमा पर्खनुपर्ने जनतामा गणतन्त्र प्रति निराशा बढेको उल्लेख गरे। 'हेरक दिन यो महललाई यसो बनाइन्छ भन्ने सुनेका जनता, टिका बक्सँदा पनि उभिने र बसेर टिका थाप्ने शैलीले जनताको मनमा आशंका छ - गणतन्त्र जोगाउँछ कि जोगाउँदैन भन्ने प्रश्न भएको छ।’

उनले संविधानमा कार्यकारिणी अधिकार नेपाल सरकारमा भनेर लेखेको उल्लेख गरे। सेतो पाटि बाट