विराटनगर । मुख्यमन्त्री शेरधन राईको आश्वासनपछि अनिश्चितकालीन विराटनगर बन्द फिर्ता भएको छ । प्रदेश राजधानी विकेन्द्रित गर्ने गरी प्रदेशसभामा प्रस्ताव दर्ता भएको विरोधमा सोमबार विहान देखि आह्वान गरिएको विराटनगर बन्द फिर्ता भएको हो ।
विराटनगरमा सोमबार दिउँसो भएको सर्वपक्षीय वार्तापछि मुख्यमन्त्री राईले राजधानी विराटनगरमा नै रहने र कार्यपालिका र व्यवस्थापिकाको संरचना पनि विराटनगर भन्दा बाहिर नलैजाने प्रतिवद्धता जनाएपछि बन्द फिर्ता लिएको जनाइएको छ ।
यता धरानमा पनि प्रदेश राजधानीको माग गर्दै विद्यार्थी, युवा र मजदुरहरुले दिउसो प्रर्दशन गरेका छन् । मध्य दिउसो टायर बालेर आन्दोलन चर्काए पछि प्रहरी र आन्दोलनकारी विच झडप भएको छ ।
टायर बाल्न नदिदा प्रहरी प्रर्दशनकारी विच तनाव भएको थियो । प्रर्दशनमा नेकपा समर्थित विद्यार्थी संगठन, युवा र मजदुर संगठनको सहभागीता रहेको थियो । टायर बाल्न पेट्रोल छर्कदा दुई विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ । विद्यार्थी रविन श्रेष्ठ र बुद्रोस लिम्बू सामान्य घाइते भएको बताइएको छ । दुवैलाई विजयपुर हस्पिटलमा उपचार गरिएको छ । संसदमा धरानलाई राजधानीको प्रस्ताव वा धरानमा पनि संरचना ल्याउने भनेर प्रस्ताव दर्ता नगरिएकोले आन्दोलनमा उत्रिएको उनीहरूले बताएका छन ।










