काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने क्रममा राष्ट्रपतिले मेरो सरकार भनी गरेको सम्बोधनको बचाउ गरेका छन् । भूलचुकले नभई सुविचारित ढंगले मेरो सरकार शब्दावली राखिएको उनले बताए ।

सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको मंगलवार संसदमा जवाफ दिँदै प्रधामनन्त्री ओलीले राष्ट्रप्रमुखले सरकारको नीति तथा कार्यक्रम पेश गर्दा मेरो सरकार भन्ने अन्तर्राष्ट्रिय प्रचलन रहेको जिकिर समेत गरे ।
‘भारतमा प्रणव मुखर्जी जिन्दगीभर कांग्रेसको राजनीति गर्नुभयो र राष्ट्रपति बन्नुभयो, विजेपीको सरकार बनेपछि पनि मेरो सरकार भनेर सम्बोधन गर्नुभयो, यो अन्तर्राष्ट्रिय चलन हो । अर्कै अर्थ लाग्नेगरी त्यसको व्याख्या गर्नु हुँदैन । भारतको राष्ट्रपतिलाई पनि कार्यकारी अधिकार छैन,’ ओलीले भने, ‘नेपालमा पनि संसद्ले पारित गरेको कानून राष्ट्रपतिले प्रमाणीकरण गरेपछि लागू हुन्छ । मन्त्रिपरिषद्ले पारित गरेका कुरा सदर हुन्छ । राष्ट्रपति संस्था केही पनि होइन भन्ने होइन । राज्य व्यवस्थाको सर्वोच्च र सम्मातिन तथा अविभावकीयय संस्था हो । अन्तर्राष्ट्रिय प्राक्टिस बुझौं ।'
ओलीले राष्ट्रपतिलाई बेलायती महारानीसँग तुलना गर्नु कूटनीतिक मर्यादा विपरीत भएको दाबी गरे ।
‘प्रतिपक्षी दलका नेताले बेलायतका महारानीको जस्तो सम्बोधन भन्नुभयो । बेलायत मित्र राष्ट्र हो । बेलायती महारानीजस्तो भनेर नकारात्मक अर्थमा प्रयोग गर्नु अलिकति कूटनीतिक हुँदैन जस्तो लाग्छ ।’ लोकान्तर बाट साभार










