धनुषा, २६ बैसाख । भाउजुसँग बसेको प्रेमलाई जोगाउन धनुषाका एक व्यक्तिले आफ्नै श्रीमतीलाई जलाएर हत्या गरेका छन् ।
भाउजुसँगको प्रेममा श्रीमती वाधक बनेपछि धनुषाका मुकेश गोइतले श्रीमती निर्मला यादवलाई जिउँदै आगो लगाई दिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । धनुषाको शहीद नगरपालिका–१ स्थित पुरवारी टोल चिरैया बस्ने मुकेशले वैशाख ५ गते निर्मलाको शरीरमा मट्टितेल छर्केर आगो लगाई फरार भएका थिए ।
घटनामा निर्मलाको शरीरको छाला ७० प्रतिशत जलेको थियो । जनकपुर अञ्चल अस्पतालमा निर्मलाको उपचार हुन नसकेपछि काठमाडौं ल्याइएको थियो । तर उपचारका क्रममै वैशाख १६ गते निर्मलाको मृत्यु भएको भइसकेको छ ।
विवाहअघि नै भाउजु श्यामादेवी यादवसँग मुकेशको गहिरो प्रेम रहेको र बिहेपछि पनि उनीहरू छुट्टिन नसकेपछि निर्मलाको हत्या गरेको अनुसन्धानमा खुलेको धनुषाका एसपी शेखर खनालले जानकारी दिएका छन् । निर्मलासँग विवाह गरेको १० महिना नवित्दै मुकेशले उनको जलाएर हत्या गरेका छन् ।
एसपी खनालका अनुसार श्यामादेवीकै कारण मुकेश र निर्मलाबीच झगडा हुन थालेपछि उनले नै जिउँदै जलाएर हत्या गर्ने योजना बनाएकी थिइन् । निर्मलालाई मट्टीतेल छर्केर आगो लगाएसँगै मुकेश भागेका थिए ।
तर प्रहरीले उनलाई पक्राउ गरिसकेको छ । विवाहपछि आफ्नो श्रीमतीलाई पन्छाउने मुकेशको योजना पूरा भए पनि पाप कर्मको फल पाउने भएका छन् । उनी अब श्रीमती हत्या अभियोगका जेल जानु पर्ने भएको छ । नया पेज बाट










