काठमाडाैँ, २७ बैशाख । आफ्नो ५० हजार रुपैयाँ नपाएपछि एक महिलाले ५९ वर्षीय पुरुषको अपहरण गरेकी छन् । महानगरीय अपराध अनुसन्धान महाशाखा र प्रहरी परिसर, ललितपुरको टाेलीले अपहरणमा परेका पुरुषलाई सकुशल उद्दार गरेको छ भने महिलालाई नियन्त्रणमा लिएको छ ।

सिन्धुली घर भई ढोलाहिटी बस्ने अनिमा भुजेलले ललितपुरको इमाडोलका ५९ वर्षीय कृष्ण चौडेललाई शुक्रबार बिहान अपहरण गरेकी थिइन् । उनीहरुबीच आर्थिक लेनदेनको कुरा नमिलेपछि अनिमाले कृष्णलाई अपहरण गरि बन्धक बनाएको प्रहरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अनुसन्धान अधिकारीका अनुसार भुजेलले चौडेललाई २ लाख रुपैयाँ ऋण दिएकी थिइन् । तर, ब्याज वापतको रकम दिन बाँकी थियो । रकम नदिएपछि भुजेलले उनलाई बन्धक बनाउने प्रयास गरेकी थिइन् ।

चौडेल ३० हजार मात्र दिन बाँकी रहेको बताएका छन् भने भुजेलले ५० हजार बाँकी रहेको दाबी गरेकी छन् ।

महानगरीय प्रहरी परिसर ललितपुर परिसरका प्रमुख (एसएसपी) रवीन्द्र धानुकका अनुसार अपहरण भएको सूचना पाएलगत्तै प्रहरीले चौडेलको उद्दार गरी अनिमालाई ढोलाहिटीबाट पक्राउ गरेको हो । अपहरणमा परेको खबर थाहा पाएलगत्तै साढे २ घण्टामै प्रहरीले कृष्णलाई सकुशल उद्दार गर्न सफल भएको एसएसपी धानुकले बताए ।

प्रहरीका अनुसार बिहान ६ बजेतिर कृष्ण चौडेल अपहरणमा परेका हुन् । चौडेल र भुजेल चिरपरिचत व्यक्ति हुन् । उनीहरुबीच पहिलैदेखि पैसाको कारोबार पनि हुने गरेको पाइएको छ ।

चौडेललाई ढोलाहिटी पुर्याएपछि अनिमाले २ लाख फिरौती मागिन् । यदि, नदिए मार्ने धम्की समेत दिएको चौडेलले प्रहरी समक्ष बयान दिएको एसएसपी धानुकले जानकारी दिए ।

कृष्णलाई अपहरण गरेपछि अनिमाले छोरी चरु चौडेललाई फोन गरी २ लाख फिरौती मागेकी थिइन् । अनिमाले फोन गरेलगत्तै चरुले प्रहरीलाई खबर गरेकी थिइन् । चरुलाई अनिमाले अरु कसैलाई भने कृष्णलाई मारिदिने धम्की दिएकी थिइन् ।

प्रहरीलाई सूचना प्राप्त भएलगत्तै डीएसपी कपिल बोहोराको टोली अपहरणमा परेका कृष्णको खोजीमा तत्काल परिचालन भएको एसएसपी धानुकले बताए ।

पक्राउ परेकी भुजेलमाथि प्रहरीले अनुसन्धान थालेपछि अपहरण संलग्नमा अरु पनि रहेको खुल्न आएको छ । प्रहरीका अनुसार थप एक महिला र एक पुरुषको संलग्नता रहेको पाइएको छ । पक्राउ परेकी अनिमामाथि थप अनुसन्धान भइरहेको र अपहरण कार्यमा थप संलग्न रहेको हुनसक्ने प्रहरीले जनाएको छ । दैनिक नेपाल बाट