कञ्चनपुरको सीमा नाकामा भारतले अघोषित नाकाबन्दी लगाएको छ । पुनर्वासमा भएको घटनापछि पश्चिमी सीमा नाकामा पाँच दिनदेखि सवारी आवागमन ठप्प भएको छ । गत बिहीबार पुनर्वास नगरपालिकामा भएको घटनामा गोविन्द गौतमको हत्यापछि पश्चिमी नाका गड्डाचौकी–बनवासाबीच पर्ने सीमा क्षेत्रबाट दुबै देशका सवारी साधनमा भारतीय पक्षले रोक लगाएको हो ।
सुरक्षाका हिसावले सवारी रोक लगाएको भारतीय पक्षको भनाई छ । सवारी साधनमा रोक लगाएपछि दुबै देशका नागरिकलाई आवातजावतमा असहज भएको छ ।
भारतबाट काम गरी फर्कने नेपाली बनवासाबाट गड्डाचौकीसम्म पैदल हिंडेरै आउन बाध्य भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नेपाली पक्षबाट गाडी आवत जावत गराउन माग गरेपनि भारतीय पक्षले चासो नदिएको बताएको छ । पनुर्वास घटनापछि भारतीय एसएसबीप्रति आक्रोशित प्रदर्शनकारीले भारतीय नम्बर प्लेटका सवारी साधनमा आगजनी र तोडफोड गरेका थिए ।
अहिले पनि गाडीको सुरक्षा नभएको भन्दै भारतले अघोषित नाकाबन्दी लगाएको स्थानिय प्रशासनले बताएको छ ।



