काठमाण्डु, २९ वैशाख – सरकारले देशभरका स्थानीय तहलाई मातहतका खाली जमिनमा फलफूलका बिरूवा रोप्न निर्देशन दिएको छ ।

देशलाई फलफूलमा आत्मनिर्भर बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणालाई कार्यान्वयनमा ल्याउन अहिले ‘एक नेपाली एक फलफूलका बिरूवा रोपण’ अभियान नै चलाइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार ७५३ वटै स्थानीय तहलाई पत्राचार गरेर फलफूल बिरूवा रोपणका लागि वर्षेनी कार्यक्रम राख्न आग्रह गरेको हो ।

‘हरेक वर्ष फलफूलका बिरूवा रोपण गर्ने कार्यक्रम अनिवार्य रूपमा वार्षिक कार्यक्रममा समावेश गरी कार्यान्वयन गर्ने,’ मन्त्रालयले स्थानीय तहलाई पठाएको पत्रमा भनिएको छ ।

मौसम र भौगोलिक अनुकुलता हेरेर फलफूलका बिरूवा रोप्न मन्त्रालयले बिरूवा संख्या र प्रजातिको विवरण खुलाएर १५ दिनभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जानकारी दिन पनि निर्देशन गरेको हो ।

साथै सरकारले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका देशभरका कार्यालय परिसरमा फलफूलका बिरूवा रोप्न अनुमानित फलफूलका बिरूवाको संख्या रक्षा र गृह मन्त्रालयमा पठाउन आग्रह गरेको छ ।

विद्यालय, विश्वविद्यालयका खाली जमीनमा पनि फलफूल रोप्न आग्रह गरिएको हो । फलफूलका बिरूवा स्थानीय तहले माग गरेअनुसार दिन सरकारले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

‘गुणस्तरीय बिरूवाको मागअनुसार उत्पादन गर्न नर्सरी निर्माण र नर्सरी स्तरोन्नति गरी प्राविधिक रूपमा रोप्न योग्य बिरूवामात्रै वितरणको व्यवस्था’ गर्न कृषि तथा पशुपंक्षी मन्त्रालयलाई आग्रह गरिएको हो ।