इटहरी / इटहरीबाट बेपत्ता एक युवती अझै फेला पर्न सकेकी छैनन् । इटहरी ५ स्थित हलगडाकी ३० बर्षीया प्रमिला राई गत बैशाख १० गतेदेखि इटहरी चौकबाट बेपत्ता भएकी थिईन । इलाका प्रहरी कार्यालय इटहरीले उनको खोजीमा महिला शेलको प्रहरी टोली परिचालन नै गरेको छ । उनको खोजीमा निस्किएको टोली अहिलेसम्म मोरङ, सप्तरी, सिराहा र उदयपुर जिल्लाका बिभिन्न स्थानमा खोजतलास गरी फर्किएको छ ।
सुस्त मनस्थिती प्रमिलालाई बैशाख १० गते उनकै छिमेकी अमृत गुरागाईले एक लजमा लगेर शाररिक सम्बन्ध राखेको र ११ गते बिहान इटहरी पश्चिम लाईनको हिरा होटल अगाडी छाडेको बताइएको छ । गुरागाई अहिले इटहरी प्रहरीको हिरासतमा छन् । गुरागाईले प्रमिलालाई बिहान हिरा होटल अगाडी ५ सयको नोट दिएर घर जान भनेको र प्रमिला सोही दिनदेखि बेपत्ता भएको प्रहरी अनुसन्धानले देखाएको बताइएको छ ।
इटहरीका डिएसपी समिरचन्द्र खरेलले युवतीको खोजीमा प्रहरी सकृय भएर लागेको अपराध न्यूजलाई जानकारी दिए । ‘महिला शेलको टोली परिचालन गरेका छौ, शंकाष्पद ठाँउहरुमा प्रहरी पुगेर खोजतलास गरिएको छ’ उनले भने ‘युवतीको फोटो सबै प्रहरी कार्यालयमा पनि पठाएका छौ’ । युवतीको हुलिया कसैले देखे नजिकको प्रहरी कार्यालयमा खबर गर्न समेत खरेलले आग्रह गरेका छन् ।











