सुर्खेत । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषकको अनुदान काटेर गाडी खरिद गर्न थालेको छ । चालू आर्थिक वर्षमै चार वटा गाडी खरिद गरिसकेको मन्त्रालयले थप सात गाडी खरिदको प्रक्रिया सुरु गरेको हो । यसका लागि विभिन्न ६ कार्यक्रमबाट तीन करोड ४० लाख रकमान्तर गरिएको छ ।

स्रोतका अनुसार गाडी खरिदका लागि मन्त्रालयतको भवन निर्माणका लागि छुट्याएको बजेटबाट पाँच लाख, विभिन्न जिल्लामा सहकारीमार्फत उत्पादित वस्तु संकलनका लागि भवन निर्माणअन्तर्गत छुट्याएको बजेटबाट ६५ लाख, अर्गानिक कृषि तथा पशुपक्षी अनुसन्धान केन्द्र स्थापनाका लागि छ्ट्याएको बजेटबाट एक करोड रकमान्तर गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसैगरी स्थानीय अन्नबाली, तरकारी, बिउ, फलफूललगायतका कृषि पैदावारको खरिद, संकलन तथा बजारीकरण शीर्षकको बजेटबाट ५० लाख र भूउपयोगसम्बन्धी बृहत्तर गुरुयोजना निर्माण शीर्षकको बजेटबाट ५० लाख रुपैयाँ रकमान्तर गरेर मन्त्रालयले गाडी खरिद प्रक्रिया सुरु गरेको हो । यो समाचार नगेन्द्र उपाध्यायले नागरिकमा लेखेका छन् ।