राजु खरेल उर्फ भुवनको बानेश्वरको शान्तिनगरस्थित मिलिजुली चोकमा पाँच तले घर । घरमा श्रीमतीसहित २ छोराछोरी । उनीहरुको परिवार सबैभन्दा माथिल्लो फ्ल्याटमा बस्दै आइरहे पनि बाँकी चार तला भाडामा दिएका थिए ।

आर्थिक स्थिति सम्पन्नशाली भएको खरेलको परिवारलाई नपुग्दो केही थिएन । खरेल राष्ट्रिय अनुसन्धान विभागका पूर्वकर्मचारी समेत हुन् । ७ वर्ष जागिर खाएका खरेलले विभागको जागिर छाडेको ९ वर्ष भयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनै खरेल आज हत्कडीसहित प्रहरीको निगरानीमा छन् । रामेछापकी ७ वर्षीया बालिका बलात्कारको आरोपमा खरेललाई कञ्चनपुरको बेलौरीबाट सोमबार प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) उत्तम सुवदीले कल लोकेशननको आधारमा खरेल भारत भाग्न लागेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए ।

घटना यस्तो थियो ?

खरेलकी कान्छी छोरी सुत्केरी छन् । सुत्केरी छोरीको स्याहारसुसार गर्न खरेलले रामेछाप घर भएकी बलात्कृत बालिका र उनकी आमालाई कसैको सम्पर्कबाट घरमा ल्याए ।

गत वैशाख १७ गते बालिकाकी आमा छतमा कपडा धुने समय पारेर माथि गएको बेला बालिकालाई प्रलोभनमा पारेर खरेलले बलात्कार गरेको बालिकाको आमाको आरोप छ ।

यता महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रमुख (डीएसपी) गोविन्द काफ्ले भन्छन्, ‘खरेलले बालिकालाई चकलेटको प्रलोभनमा बलात्कार गरेको बालिकाकी आमाको आरोप छ । खरेलविरुद्ध भोलिपल्ट बालिकाकी आमाले बानेश्वर प्रहरीमा किटानी जाहेरी दिएकी हुन् ।

बानेश्वर प्रहरी वृत्तमा बालिकाकी आमाले आफूविरुद्व किटानी जाहेरी दिएको थाहा पाएपछि खरेलले घरमा कसैलाई जानकारी नदिई भागेको प्रहरी अनुसन्धानमा खुल्न आएको छ ।

उजुरी लगत्तै प्रहरीले बालिकालाई परोपकार प्रसुती गृहमा स्वास्थ्य परीक्षण गरेको थियो । बालिकाको योनीमा घाउ देखिएको थियो ।

यसरी पक्राउ परे

डीएसपी काफ्लेका अनुसार सोमबार बिहान ११ बजेर ५८ मिनेटमा खरेल पत्नीको मोबाइलमा फोन आयो । यसैको आधारमा त्यसपछि खरेललाई कञ्चनपुरको बेलौरीबाट पक्राउ गरेको हो ।

प्रहरीले सोमबार खरेलकी श्रीमतीलाई बानेश्वर वृत्तमा लग्यो । डीएसपी काफ्लेले भने, ‘खरेलले परिवारका सदस्यलाई फोन गर्लान् भन्ने आशमा खरेलकी श्रीमती र छोराको मोबाईल नियन्त्रणमा लियौं । त्यसैका आधारमा फरार खरेललाई पक्राउ गर्न सकिने विश्वास थियो ।’

डीएसपी काफ्लेले भने, ‘खरेलको पत्नीको मोबाइलमा आएको त्यो नम्बर सेभ थिएन । त्यो फोन प्रहरीले नै उठायो । फोन आएको तीन सकेन्डमै काटियो । फोनमा बोल्ने व्यक्ति फरार रहेका राजु थिए ।’

राजुले तीन सेकन्डमा मेरो कारणले तिमीहरुलाई दुःख भयो है भनेको डीएसपी काफ्लेले बताए । उनले भने, ‘प्रहरीले सोही नम्बरमा कल ब्याक गरिरह्यो । तर धरै प्रयासपछि उक्त नम्बरमा फोन गएपनि उठेन् ।’

प्रहरीले निरन्तर फोन सम्पर्क गरिरहे पनि यता नेपाल टेलिकमसँग सम्पर्क राखेर उक्त फोनको कल लोकेशन झिकायो । टेलिकमबाट कल लोकेशन झिकाएपछि थाहा भयो आरोपी भनिएका खरेल कञ्चनपुरको बेलौरीमा छन् । उनी भारत पस्ने तयारीमा रहेको बताइएको छ ।

प्रहरीले तत्कालै जिल्ला प्रहरी कार्यालय कञ्चनपुर खबर गर्यो । खरेललाई पक्राउ गर्न कञ्चनपुर प्रहरीसँगै महानगरीय अपराध महाशाखाको टोली, काठमाडौं परिसरको टोली र बानेश्वर प्रहरीको टोलीले सहयोग गर्यो ।

प्रहरीले पनि भारत जानेमाथि कडाभन्दा कडा निगरानी बढायो । भारत पस्ने प्रत्येक व्यक्तिहरुमाथि खानतलासी लिने र सोधपुछ गर्ने काम गर्यो । त्यहीबेला खरेल पक्राउ परे ।

खरेल सोमबार दिउँसो २ बजेतिर पक्राउ परेका हुन् । बलात्कार आरोप लागेका खरेलले कहिल्यै पनि जुंगा नकाट्ने गको एक स्थानीयले बताए । तर, बलात्कार आरोप लागेपछि फरार रहेका खरेलले जुंगा समेत काटेका थिए ।

७ दिन म्याद थप

कञ्चनपुरको बेलौरीबाट पक्राउ परेका खरेललाई मंगलबार दिउँसो २ः४५ बजे काठमाडौं ल्याइएको छ । खरेल अहिले बानेश्वर प्रहरीको निगरानीमा छन् ।

बलात्कार आरोप लागेका खरेललाई अदालतबाट ७ दिनको म्याद थप गरी मेडिकल गर्न लगिएको डीएसपी काफ्लेले बताए ।उनीमाथि बानेश्वर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।रातो पाटी  बाट साभार गरिएको