काठमाडौं।विश्व स्वास्थ्य सङ्गठनले बिर्सनेसँग सम्बन्धी एक किसिमका रोग डिमेन्सिया हुनसक्ने खतरा कम गर्न पहिलो निर्देशिका प्रकाशन गरेको छ।

उक्त रोगलाई विश्व स्वास्थय सङ्गठनले स्वास्थ्य सम्बन्धी एउटा प्रमुख विश्वव्यापी चुनौतीका रूपमा अर्थ्याउदै संसारभरि करिब ५ करोड मानिस डिमेन्सिया रोगको सिकार बनेको बताएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उक्त सङ्ख्या आगामी ३० वर्षमा तीन गुणा बढ्न सक्ने बताइएको छ। मानिसको सम्झन सक्ने क्षमतामा असर पुर्‍याउन सक्ने उक्त रोगबाट बच्न स्वस्थ र सक्रिय जीवनशैलीको प्रवर्द्धन गर्नुपर्ने लगायतका विषयवस्तु निर्देशिकामा समेटिएको छ।डिमेन्सियाको उपचार पत्ता लगाउन वर्षौं लाग्न सक्ने विज्ञहरूको भनाइ छ।

डिमेन्सिया लाग्नुको प्रमुख कारण मध्ये एक वृद्धा अवस्था रहेको बताइएको छ। तर वृद्ध अवस्थामा हुने यो प्राकृतिक वा अपरिहार्य परिणाम भने होइन। रोगबाट बच्न स्वस्थ आहार लाभदायी हुने भए पनि भिटामिन चक्की सेवन गर्नुले भने त्यसबाट बच्न कुनै किसिमको सहयोग नगर्ने सुझाइएको छ।

डिमेन्सियाबाट बच्न धूम्रपान र मद्यपानबाट टाढा रहनु पर्ने उल्लेख गरिएको छ। त्यस्तै शारीरिक वजन, उच्च रक्तचाप र अत्यधिक कोलेस्ट्रोल जस्ता विषयमा उच्च सतर्कता अपनाउनुपर्ने सुझाव दिइएको छ।