काठमाण्डु, ३ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेरो सरकार’ प्रकरणमा बुद्धिजीवीहरूले ‘स्याल हुइँया’ मचाएको आरोप लगाएका छन् ।

शुक्रवार राजधानीमा आयोजित मदनआश्रित स्मृति सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा केही कमजोरी नभेटिएपछि ‘मेरो सरकार’ भन्यो भन्दै हिँडेको आरोप लगाएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘मेरो सरकार होइन भने कसको सरकार हो त ?’ ओलीले प्रश्न गरे, ‘राष्ट्रपतिले अर्कै सरकारको प्रतिवेदन पढ्ने हो र ? संसारभरि के गरिन्छ ? राष्ट्रपतिले आफ्नो सरकारको प्रतिवेदन पढ्छ । पुवाबाट आकाश जत्रो देखिन्छ त्यत्रो छ भन्नु हुँदैन । अरू संसारभरको अभ्यास हेरे हुन्छ ।’

जनवर्गीय संगठन एकीकरणमा असन्तुष्टि जनाएकाहरूलाई प्रधानमन्त्री ओलीले चित्त सानो नपार्न सुझाव दिएका छन् ।

‘यतिबेला चित्त सानो पार्ने होइन, मन दुखाउने होइन,’ ओलीले भने, ‘यतिबेला फराकिलो मनका साथ एकता र एकीकरणको भावनालाई आत्मसाथ गर्ने हो । २ वटा पार्टीलाई एक बनाएका छौं र नछुट्टिने गरी अन्तर्घुलन गर्दैछौं । अरू साथीहरू क्रमशः समेटिँदै जानुहुनेछ ।’

विद्यार्थी संयोजकको जिम्मेवारी नदिएकामा तत्कालीन माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ असन्तुष्टि जनाएका थिए ।

अखिल महासचिव ऐन महरलाई संयोजक बनाइएपछि तामाङ नेतृत्वसँग असन्तुष्ट बनेका हुन् । नेकपा सचिवालयले महरलाई संयोजक र तामाङले चाहेमा उनलाई सह–संयोजकको जिम्मेवारी दिने निर्णय गरेको थियो ।

यद्यपि तामाङले आफूमाथि अन्याय भएकाले सह–संयोजककोजिम्मेवारी स्वीकार गर्ने वा नगर्ने भन्ने निर्णय सोचेर लिने काठमाण्डुटुडेलाई बताएका थिए । उनले एकता गर्दा विधि, प्रक्रिया र पद्दति मिचिएको उल्लेख गरे । महरभन्दा तामाङ विद्यार्थी राजनीतिमा सिनियर हुन् ।

तामाङले वरिष्ठता, योग्यता र क्षमतालाई उपेक्षा गरेर पार्टी नेतृत्वले निर्णय लिएको आरोप लगाए । ‘विधि, प्रक्रिया र पद्दतिविपरीत निर्णय गरियो’, तामाङले भनेका थिए, ‘एकतामा ममाथि अन्याय भएको छ ।’\\

अन्याय भयो-तामाङ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठकले जनवर्गीय संगठनको एकता टुङ्ग्याएपछि विद्यार्थी संगठनको सह संयोजकको जिम्मेवारी पाएका रञ्जित तामाङले आफूमाथि अन्याय भएको बताएका छन् । माओवादी निकट तत्कालीन अखिल क्रान्तिकारीका अध्यक्ष तामाङले विधि, पद्दती र नियम मिचेर एकता गरिएको भन्दै आपत्ति जनाए ।

पहिलो पटक निर्वाचनबाट अखिल क्रान्तिकारी अध्यक्ष भएको उल्लेख गर्दै तामाङले एकतामा न्याय हुन नसकेको बताए । ‘विद्यार्थी एकता गर्दा योग्यता क्षमतालाई नेतृत्वले पटक्कै ध्यान दिएन,’ तामाङले भने, ‘पार्टी नेतासँगको सम्बन्धलाई आधार बनाएर जिम्मेवारी तोकियो ।’

आफूमाथि भएको अन्यायले विद्यार्थी संगठनलाई मात्र नभई सिंगो पार्टीलाई राम्रो नगर्ने तामाङले बताए ।