काठमाडौँ । गत मंगलबार स्रकोरपियोमा चढेर एक युवा दोभानमा ओर्लिए । गाडीभरि शैक्षिक सामग्री बोकेर ‘आफ्नो गाउँ सम्झी आएँ ……’ गीत घन्काउदै वकैया–२, दोभान मकवानपुरमा ओर्लिए पछि धेरैसँग अंकमाल गरे, कसैलाई नमस्कार, कसैसँग हस्तमिलन गर्दै यिनले वर्षौदेखिको भेटघाट दर्शाए । कतिपयले भन्दै थिए, गाउँ सम्झेर धेरैमा आउनु भयो, स्वागत छ । कसैले भन्दै थिए, ‘खुशी लागेको छ आफ्नो गाँउ, ठाउँलाई सम्झनु भयो, नयाँ कार्यक्रम लिएर आउनु भएको छ रे’, यी सम्वादहरु सुनिरहँदा यस्तो लाग्दै थियो, कोही यही गाउँबाट वर्षौ बाहिर गएर फर्किरहेको छ, त्यो पनि विशेष कार्यक्रम लिएर ।

हो, यी माथिका युवा अरु कोही नभएर तपाईं हामीले रुचाईएका मोडल, समाजसेवी तथा युवा व्यवसायी फुर्वा दोर्जे मोक्तान हुन । साविकको धियाँल गाविस कालापानीमा जन्मिएका फुर्वा मंगलबार यस्तै शैलीमा जन्मभूमि पुगे । आफ्ना वुवाको साथमा गाउँका दुई विद्यालयहरुमा शैक्षिक सामग्री वितरण गर्ने र गुरुहरुलाई सम्मान गर्ने फरक खालको कार्यक्रम लिएर जन्मठाउँमा पुगेका फुर्वालाई सबैले खादा तथा मालाद्धारा स्वागत गरे ।
बुधबार विहान ९ः३० मा श्री कालिका माध्यमिक विद्यालय, वकैया–२, दोभान मकवानपुरमा शैक्षिक सामग्री,कार्यक्रमको तुल र सम्मान पत्र बोकेर फुर्वा स्कूलको प्राङ्गणमा पुगे । केही शिक्षकहरु र केही सहयोगीहरु पुगिसकेको विद्यालय विद्यार्थीहरु नआईपुगेकोले सुनसान थियो । फुर्वा आफै सक्रिय भए कार्यक्रम गर्ने स्थान तय गरे र सम्मान पत्र, शैक्षिक सामग्री मिलाए । केही बेरमा विद्यार्थीहरुले स्कूल खचाखच भयो । विहानको प्रार्थना सुरु भयो । प्रार्थना सुरु भए लगत्तै सुरु भयो फुर्वा दोर्जे मोक्तानद्धारा आयोजित ‘गुरु सम्मान तथा शैक्षिक सामग्री वितरण’ कार्यक्रम ।
आफू जन्मेको भूमिमा शिक्षाको ज्योति जलाईदिने गुरुहरुप्रति उच्चसम्मान सहित सम्मान पत्र प्रदान गर्ने र विद्यार्थी भाईबहिनीहरुलाई शैक्षिक सामग्री वितरण गर्ने यो कार्यक्रम सुरु हुँदै जाँदा वक्ताहरुले फुर्वा दोर्जे मोक्तानका विषयमा बोल्दै गए । त्यही ठाउँमा जन्मिएको तर, आजसम्म नि कुनै औपचारिक शिक्षा नलिएका, पढाईका नाममा एक कक्षामा पनि नबसेका व्यक्तित्व फुर्वाले शिक्षाको महत्वलाई बुझेर यस्तो फरक खालको कार्यक्रम आयोजना गर्नु भएकोमा सबैले धन्यवाद दिए । उनको बाल्यकाल र औपचारिक शिक्षाका विषयमा बक्ताहरु बोल्दा फुर्वा भावुक बनेर आँशु झारे । भन्छन् ‘चश्मा लगाएको थिए र कसैले आँशु देख्न पाएन, बाल्यकाल सम्झेर आँशु आयो’ । कार्यक्रमलाई सम्वोधन गर्नै आईपुगेका वकैया वडा नं. २ का वडा अध्यक्षले फुर्वाको कामको प्रशंसा मात्र गरेनन् आफ्नो कार्यकालमै एक विशेष कार्यक्रम गरेर फुर्वाको सम्मान गर्नेसमेत बताए । प्रधानाध्यापक सुरज लोप्चन तामाङले आफ्नो गाउँको युवामा शिक्षाप्रतिको यस्तो उच्च चेतना देखेर आफूलाई गर्व लागेको बताए ।

यस्तो कार्यक्रम अभिभावक र मिडियाको बीचमा गर्नु पर्ने तर्क लोप्चनले व्यक्त गरे पनि आयोजक फुर्वा दोर्जेले भने आफूले मनमा लागेको कार्यक्रम गरेको र यो कसैलाई देखाउन वा मिडियावाजी गर्न नगरेको स्पष्ट पारे । आफ्नो मन्तव्यका क्रममा फुर्वाले आफूलाई आफ्नो जन्मभूमि प्राण भन्दा पनि प्यारो लाग्ने र यहाँ जन्मिएका भोलीका पुस्ता शिक्षाको उज्यालो किरणबाट टाढा नहोउन भन्ने चाहना रहेको बताए । शिक्षकहरुलाई हौसला र प्रेरणा मिलोस् भन्ने उदेश्यले यस्तो कार्यक्रम आयोजना गरिएको स्पष्ट पारे । सबै गुरुहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आफ्नो जन्मभूमिमा शिक्षाको ज्योति बालिदिनु हुने सबैप्रति सधैं सम्मान रहने बताए ।
कार्यक्रममा श्री कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरज लोप्चन तामाङ, शिक्षकहरु विनोद यादव, धर्मेन्द्र प्रसाद यादव, भीम प्रसाद साह, सुजाता सिंतान तामाङ, दैवलाल जिम्बा तामाङ, विनिता बस्नेत, देवलाल स्याङ्तान तामाङ, सुकराम स्याङ्तान तामाङ, निरञ्जन यादव, राममाया थोकर तामाङ, निरिमाया सिंतानलाई सम्मान गरिएको थियो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कपी, कलम, सिसाकलम, कटर, ईरेजल लगायतका शैक्षिक सामग्री र विस्कुट वितरण गरिएको थियो ।
त्यस्तै कालिका मा.वि.को कार्यक्रम पछि मोक्तानले आफ्नै जन्मघर नजिकै रहेको श्री भुमेश्वरी प्राथमिक बिद्यालय,, वकैया–२, कालापानीका शिक्षक शिक्षकालाई सम्मान गर्न पुगे । भुमेश्वरी प्रा.वि.का प्रधानध्यापक धर्म बं. ब्लोन तामाङ र शिक्षिकाहरु जिमा कुमारी जिम्बा तामाङ, रमिता दोङ तामाङ, उमा शिवाकोटीलाई सम्मान पत्र र खादाद्धारा सम्मान गरियो भने विद्यार्थीहरुलाई शैक्षिक सागग्री र विस्कुट प्रदान गरियो ।
फुर्वा दोर्जे मोक्तान एक कुशल कलाकार हुन । मलेसियामा व्यवसाय समेत गर्दै आएका मोक्तानले दर्जनौं म्यूजिक भिडियोमा अभिनय गरेका छन् । केही वर्ष पहिले आफ्नो एकल एल्वम मेरो गाउँ बजारमा ल्याएका दोर्जेले कतिपय गीतहरुमा आफ्नो शब्द र स्वर समेत दिएका छन् । पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रमा समेत प्रवेश गरेका मोक्तानले अहिले नेपाली चलचित्र ‘इन्काउन्टर’मा मुख्य भूमिका निर्वाह गरेका छन् । मलेसिया र सिंगापुरमा सुटिङ सम्पन्न गरिएको सोही चलचित्रको बाँकी दृश्यहरु खिच्नका लागि फुर्वा नेपाल आएका र यही सन्दर्भमा गुरु सम्मान तथा शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम आयोजना समेत जानकारी दिए ।










