भद्रपुर । पूर्वको पशुपतिनाथले परिचत अर्जुनधारा जलेश्वरधामले तीर्थयात्री र दीनदुःखीका लागि रात्रिकालीन निःशुल्क भोजन शुरु गरेको छ।धामद्वारा स्थापित अन्नदान अक्षयकोषबाट जलेश्वरधामले रात्रिकालीन भोजन शुरु गरेको धाम समितिका कोषाध्यक्ष मोहन जोशीले बताए।

उनले अर्जुनधारा नगरपालिकाभित्रका असहाय र गरीबले समेत निःशुल्क सो भोजन ग्रहण गर्न पाउने व्यवस्था गरेको बताए। “हाम्रो उद्देश्य भनेको नगरका कोही पनि भोकै नसुतुन् भन्ने हो”, कोषाध्यक्ष जोशीले भने, “सँगै मन्दिरमा आउने भक्तजन र अतिथिका लागि समेत भोजनको व्यवस्था गरेका छौँ।”

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हालसम्म दाताको सहयोगबाट अक्षयकोषको रकम रु ३५ लाख बढी भइसकेको उनले जानकारी दिए। भविष्यमा रु एक करोडको अक्षयकोष बनाउने धामको लक्ष्य रहेको छ।अर्जुनधाराधाम तीर्थयात्रीको पछिल्लो समय ‘ट्रान्जिट प्वाइन्ट’जस्तै भएको बताउँदै धाम समितिका सदस्य शेखर प्रधानले भने, “ताप्लेजुङको पाथीभरा र भारतको कामाक्षादेवीलगायतका धाम जाने यात्रु यहीँ आएर बास बस्छन्। उनीहरुका लागि भोजन र आवास दुवैको व्यवस्था छ।”

‘कोही भोकै नसुतुन्’ भन्ने नाराका साथ यही जेठ ५ गतेदेखि शुरु गरिएको भोजन दैनिक साँझ ७ः३० बजेदेखि ९ बजेसम्म खुवाइने सदस्य प्रधानले जानकारी दिए। उनका अनुसार धाम परिसरमै अतिथिगृहको समेत निर्माण भइरहेको छ।