अक्सर मदिरा पिउनेहरुको अनेक वाहाना हुन्छन् । उनीहरु भन्छन्, ‘सन्तुलित मात्रामा पिउने हो भने यसले औषधीको काम गर्छ ।’ सन्तुलित भनेको कति ? शरीरमा मदिराले कसरी राम्रो प्रभाव पार्छ ? के यो सत्य हो ?
यावत् जिज्ञासाबारे हिन्दी विविसी अनलाईनमा एक आलेख प्रकाशित छ । त्यसैको भावनुवाद यहाँ प्रस्तुत गरिएको छ ।
मदिरा र स्वास्थ्यको सम्बन्ध
हामी मध्ये जो मानिस कहिलेकाँही एक गिलास बियर वा एक दुई पेग मदिरा पिउँछौ धेरैले थोरै मदिरा पिउनाले शरीरलाई नोक्सान नहने बरु फाइदा हुने विश्वास गर्छौं ।
जब कुनै यस्तो अध्ययन अगाडि आउँछ जसले कम मात्रामा मदिरा पिउनु स्वास्थ्यको लागि राम्रो हो भन्ने संकेत दिन्छ त्यतिखेर मिडिया र आममानिसहरुले पनि यसलाई ठूलो उत्साहसँग स्वागत गर्छन् ।
तर, कम मात्रामा पनि मदिरा पिउनाले स्वास्थ्यमा कुनै फाइदा हुन्छ भन्ने कुरा ठोकुवा गर्न भने धेरै नै मुस्किल काम हो ।
प्रमाणहरुको आधारमा औषधी दिने प्रकियाको जनक मानिने आर्ची कोक्रेननले एक सुरुवाती अध्ययनमा मदिराको सेवन र स्वास्थ्यमा सम्बन्ध रहेको पाएका थिए ।
सन् १९७९ मा उनले आफ्ना दुई सहयोगीहरुसँग मिलेर १८ विकसित देशमा मुटुसम्बन्धी रोगहरुबाट हुने मृत्युको वास्तविक कारण जान्ने कोसिस गरेका थिए । ती देशहरुमा अमेरिका, बेलायत र अष्ट्रेलिया पनि समावेश थिए ।
मदिराको मुटुरोगसँग सम्बन्ध
आर्ची कोक्रेनले आफ्नो विश्लेषणमा मदिरा विशेषगरि वाइनको सेवन बढाउँदा मुटुरोगको जोखिम कम हुने स्पष्ट सम्बन्ध भएको बताए । कोक्रेन र उनका साथीहरुले फरक फरक देशका मानिसहरुमा मुटुरोगले हुने मृत्युको दर किन फरक छ भनेर बुझ्ने कोसिस गरेका थिए ।
उनका अनुसार मदिरा बनाउनको लागि जुन दोस्रो तत्व प्रयोग हुन्छ त्यसमा पाइने एन्टीअक्सिडेन्ट वा वनस्पतीको पोलिफेनोल स्वास्थ्यको लागि फाइदाकारी हुन्छ ।
सन् १९८६ मा शोधकर्ताहरुको अर्को समूहले अमेरिकामा ५० हजारभन्दा धेरै पुरुष डाक्टरहरु माथि सर्वेक्षण गरेको थियो । यसमा उनीहरुको खानपिनको बानी, उनीहरुको चिकित्सकिय इतिहास र स्वास्थ्यको स्थितीमाथि दुई वर्षसम्म अनुसन्धान गरिएको थियो ।
यो अध्ययनमा जो डाक्टर धेरै रक्सी पिउँछन् उनीहरुमा कोरोनरी हार्ट रोगहरु कम हुने कुरा पत्ता लागेको थियो ।
कम मदिरा पिउने मानिस यसै पनि धेरै सतर्क
सन् २००० मा प्रकाशित एक अर्को अध्ययन अनुसार यदि तपाईं दैनिक एक पेग गुणस्तरीय मदिरा सेवन गर्नुहुन्छ भने सप्ताहमा मदिरा नपिउने मानिसको तुलनामा तपाईंको मृत्यु हुने सम्भावना कम हुन्छ ।
यस अध्ययनका अनुसार मदिराको खपत र हृदय रोगको बीचमा यस्तो सम्बन्ध छ । दैनिक धेरै मात्रामा मदिरा पिउने मानिसहरु तुलनामा जो मानिस सोचेर बुझेर कम मात्रामा मदिराको सेवन गरिरहेका छन् उनीहरुको हृदय रोगबाट मृत्य हुने सम्भावना कम छ ।
तर, कम मदिरा सेवन गर्ने मानिसमा के मदिराको सेवन फाइदाकारी छ वा फेरि यी मानिसहरु आफ्नो स्वास्थ्यको बारेमा यसै पनि धेरै सतर्क हुन्छन ? के कम मदिरा पिउने मानिसहरु नियमित रुपमा शारीरिक व्यायाम गर्छन ? सन्तुलित भोजन गर्छन् ? र आफ्नो ख्याल राख्छन् ? यस्ता धेरै प्रश्नहरुको उत्तर पाउन सकिँदैन ।
सन् २००५ मा मेडिकल प्रोफेसनलहरुको बीचमा एक अर्को अध्ययन भएको थियो जसमा ३२ हजार महिला र १८ हजार पुरुष सहभागी थिए । यसमा मदिराको सेवनबाट हार्ट अट्याकको खतरा र शरीरमा हुने असरबीच के सम्बन्ध छ भनेर पत्ता लगाउने कोसिस गरिएको थियो ।
अध्ययनबाट जो मानिस सातामा तीन चार पटक एक वा दुई पेग मदिरा पिउँछन् उनीहरुमा हार्ट अट्याक हुने जोखिम कम हुने तथ्य अगाडि आयो ।
यसको कारण मदिराको गुड कोलेस्टेरोल र हेमोग्लोबिन ए१ सी मा असर हुन्छ होला वा फेरि फाइबरिनोजेनमा असर हुन्छ होला भनेर शोधकर्ताहरु मान्छन् ।
अध्ययनमा ठूलो कमजोरी
यी तीन कारकहरुको मेटाबोलिक सिन्ड्रोममा महत्वपूर्ण भूमिका हुन्छ । अध्ययनहरुबाट सम्भवत यी कारकहरुमा राम्रो सन्तुलन स्थापित हुन्छ होला भन्ने संकेत मिलेको छ ।
तर, यसलाई पढेर तपाईंले मदिराको सेवन बढाउन सुरु गर्नु भन्दा पहिले तपाईंले केही अरु पनि पढ्नुपर्छ ।
के मदिरा नपिउने मानिसहरुमा मदिराको एक दुई पेग दैनिक पिउने मानिसको तुलनामा मृत्युको खतरा धेरै हुन्छ ? यसको सिधा जबाफ दिन सजिलो छैन ।
सन् २००६ मा शोधकर्ताहरुको एक टिमले यी अध्ययनहरुको गम्भिरताको समिक्षा गरेको थियो । उनीहरुले ती अध्ययनमा एक ठूलो कमजोरी देखे । अध्ययनमा मदिराको सेवन नगर्ने मानिसहरुको रुपमा ती मानिसहरु सहभागी थिए जसले रोग र बढ्दो उमेर जस्ता कारणहरुले मदिरा पिउन छोडिसकेका थिए । यस्तोमा यी मानिसहरुको स्वास्थ्य आम मानिसको तुलनामा राम्रो भएको कुनै सम्भावना थिएन ।
मदिराको पचाउने गुण
एक अर्को अध्ययनमा यी कमजोरीहरुलाई टाढा गर्ने कोसिस गरियो । यसै वर्ष बेलायतका मानिसहरुमाथि अध्ययन गरिएको थियो ।
उक्त अध्ययन अनुसार यदि मदिराको खपत र स्वास्थ्यको मात्रै तुलना गर्ने हो भने तपाईंलाई सीमित मात्रामा मदिराको सेवनबाट फाइदा मिल्ने छ ।
तर, यदि यी अध्ययनहरुमा मदिरा नपिउने ती मानिसहरु जो पहिले मदिरा पिइरहन्थे उनीहरुलाई निकालिदिने हो भने मदिरा पिउनाको कुनै फाइदा देखिँदैन ।
एक अर्को टिमले ती मानिसहरुमा पनि अध्ययन गरेको थियो जसको शरीरले मदिरालाई ठिकसँग पचाउन सक्दैन । यसमा ती मानिसहरु सहभागी थिए जो मदिरा सेवन गर्थेनन् । यी मानिसहरुको तुलना मदिरा पिउने मानिसहरुसँग गरिएको थियो ।
यस अध्ययनको नतिजाले मदिराको सेवनले हृदयघातको जोखिम बढे पनि वा नबढेपनि यसले अन्य प्राणघातक रोगहरु लाग्ने सम्भावना भने पक्कै पनि बढ्ने देखायो ।
विश्व स्वास्थ्य संगठनको गत वर्षको रिपोर्ट अनुसार मदिरा सेवनले डिप्रेशन, बेचैनी, लिभर सिरोसिस, पेनकि्रयाटाइटिस, आत्महत्याको प्रवृत्ति, हिंसा र दुर्घटना जस्ता घटना बढ्छ ।
मदिराको सेवनले मुख, नाक, घाँटी, कलेजो र स्तनको क्यान्सरको खतरा पनि बढ्छ । विश्वभरमा क्यान्सरबाट हुने मृत्युमा ४ देखि ३० प्रतिशत मृत्यु मदिराको सेवनको कारण हुने गर्छ ।
स्तन क्यान्सरमा त यो आँकडा ८ प्रतिशत रहेको छ । यसमा एक पेग प्रतिदिनि लिनाले स्तन क्यान्सरको खतर ४ प्रतिशत सम्म बढ्छ भने धेरै सेवन गर्नाले यो खतरा ४० देखि ६० प्रतिशत सम्मा बढ्छ ।
मदिरा सेवनले कम्तीमा २०० रोगहरुको खतरा
मदिराको धेरै सेवनले तपाईंको प्रतिरोधी क्षमता कमजोर गर्छ र यसको साथै निमोनिया र टिभी हुने खतरा बढ्छ । मदिराको सेवनले यौन व्यवहारमा जोखिम लिने सम्भावना बढ्छ र एचआइभी र अन्य संक्रमित रोगहरु हुने खतरा पनि बढ्छ ।
गर्भावस्थामा महिलाले मदिरा सेवन गरेमा शिशुको विकास प्रभावित हुन्छ । मदिरा सेवनले कम्तीमा पनि २०० लाग्ने खतरा हुन्छ । यसमा ३० वटा रोग त मदिराको सेवनको कारणले मात्रै हुन्छ ।
तर, ‘सीमित मात्रामा मदिराको सेवनले फाइदा हुन्छ’ भन्ने मान्यता पूर्णरुपमा हटेको छैन । मदिराको सेवन बन्द गराउनको लागि जुटिरहेका संस्थाहरु पनि हिच्किचाउँदै मान्छन् कि कम मात्रामा मदिरा पिउनाले मुटु सम्बन्धी रोगहरु र स्ट्रोकमा फाइदा हुन सक्छ ।
तपाई पुरै कथा पढेपछि दुविधामा त पर्नुभएको छैन नी ?
मदिराको स्वास्थ्यमा पार्ने असरको बारेमा सन् २०१३ मा एक विस्तृत अध्ययन प्रकाशित भएको थियो । उक्त रिपोर्टको अन्त्यमा लेखिएको छ, ‘मदिराको हानीकारक प्रभाव हुने प्रमाण स्पष्ट छ तर, जे प्रमाण पाइएका छन् त्यस अनुसार यसको गर्ने भनिएको फाइदाहरुलाई भने शंका गर्न सकिन्छ ।
हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै
मदिरा सेवन गर्ने व्याक्तिलाइ बढी टोक्छ लामखुट्टेले, जानिराखाैँ
मदिरा पिउनेहरुलाई लामखुट्टेले बढी टोक्ने एक अध्ययनले देखाएको छ । अमेरिकाको जर्नल अफ मस्किवटो कन्ट्रोल एसोसिएशनको रिपोर्टका अनुसार रक्सी नपिउनेहरुभन्दा पिउनेहरुलाई लामखुट्टेले बढी टोक्छन् । यद्यपि रक्सी पिउनेहरुप्रति नै लामखुट्टे बढी आकर्षित किन हुन्छन् भन्ने चाहिँ खुलेको छैन ।
लामखुट्टेले रक्सी कसरी पत्ता लगाउँछन् ?
लामखुट्टेले मानिसहरुको पहिचान दुई केमिकलबाट गर्दछन् । पहिलो, कार्बनडाइ अक्साइड हो, जुन हामीले सास फेर्ने बेला बाहिर निस्किन्छ । दोस्रो, अक्टानोल हो । अक्टानोललाई मशरुम अल्कोहल पनि भनिन्छ । मशरुम अर्थात च्याउको स्वाद यही केमिकलबाट आउँछ । यो केमिकल हाम्रो शरीमा एल्कोहल अर्थात् रक्सी पिउँदा बन्दछ ।
अब अर्को प्रश्न आउँछ- रक्सी पिएका व्यक्तिको रगत पिउँदा लामखुट्टेलाई नशा लाग्छ कि लाग्दैन ?
लाखौं वर्षदेखि लामखुट्टेले मानिसहरुको रगत पिउँदै आएका छन् । तर, रक्सी पिएका व्यक्तिको रगत पिउँदा लामखुट्टेलाई नशा लाग्छ कि लाग्दैन भन्ने कुराको अनुसन्धान भने एकदमै थोरै भएको छ ।
लामखुट्टेबारे अमेरिकी जानकार तान्या डेप्कीले फलाडेल्पिmयाको पेन्सेल्भेनिया विश्वविद्यालयमा पढाउँछिन् । उनी भन्छिन्, ‘मलाई लाग्दैन कि पियक्कडको रगत पिउँदा लामखुट्टेलाई पनि नशा लाग्छ । किनभने रगतमा अल्कोहलको मात्रा नशा लाग्ने जति हुँदैन ।’
तपाईंलाई अचम्म लाग्न सक्छ, किरा फट्याङ्ग्राहरुमा रक्सीको नशा सजिलै पचाउन सक्ने यति धेरै क्षमता हुन्छ कि उनीहरुलाई सितिमिति नशा लाग्दैन ।
लामखुट्टेले रक्सी कसरी पचाउँछन् ?
अमेरिकाको नर्थ क्यारोलिना स्टेट युनिभर्सिटीका कोबी स्केलका अनुसार कसैले १० पेग रक्सी पियो भने उसको रगतमा अल्कोहलको मात्रा ०.२ प्रतिशत हुन्छ । तर यदि कुनै लामखुट्टेले त्यो व्यक्तिको रगत पियो भने उसमा रक्सीको निकै कम असर हुन्छ । यसबाट लामखुट्टेलाई असर पर्दैन ।
लामखुट्टेको पाचन शक्ति पनि सशक्त हुन्छ । रगत बाहेक अरु कुनै चिज उनीहरुको पेटमा पुगेमा अलग्गै ठाउँमा जम्मा हुन्छ । त्यहाँ इन्जाइमहरुले पचाइदिन्छन् । अर्थात् लामखुट्टेको शरीरमा रक्सीको पर्यो भने पनि उसका इन्जाइमहरुले नयाँ केमिकलमा बदलिदिन्छन् । जसका कारण दिमागमा असर पर्दैन ।
लण्डनको नचुरल हिस्ट्री म्युजियमको रेखदेख गर्दै आएकी एरिका म्याकएलिस्टर भन्छिन्- हानी गर्ने धेरैजसो केमिकललाई आफ्नो खानाबाट अलग गर्ने क्षमता अधिकांस किराफट्याङ्ग्राहरुमा हुन्छ । उनीहरुले बिस्तारै बिस्तारै शरीरबाट बाहिर निस्कासन गर्दछन् । उनीहरुले रक्सीदेखि हानीकारक ब्याक्टेरियासम्म पचाइदिन्छन् ।
एरिकले किराफट्याङ्ग्राको बारेमा एक किताब, ‘द सेक्रेट लाइफ अफ फ्लाइज’, पनि लेखेकी छन् । उनी भन्छिन्- आम रुपमा पाइने झिंगा, माहुरीहरुमा असाधारण पाचन शक्ति हुन्छ । उनीहरु सडेगलेका फलबाट रस चुस्छन् जबकी सड्ने क्रममा फलहरुमा अल्कोहल बन्दछ ।
एरिका भन्छिन्, ‘लामखुट्टेलाई नशा लाग्छ भन्ने कुरा त थाहा छैन तर झिंगा, माहुरीहरु अक्सर एल्कोहलको शिकार हुन्छन् । यसक्रममा उनीहरुको चालढाल बदलिन्छ । उनीहरु मस्ति गर्न थाल्छन् । आफ्ना साथीहरु रोज्न कठिन संघर्ष गर्दैनन् । ज्यादा अल्कोहल पिएपछि उनीहरुले होस नै गुमाउँछन् ।’
लामखुट्टेले पनि सडेगलेका फल चुस्न मन पराउँछन् । पोथी लामखुट्टेले मात्र रगत चुस्छन् । किनभने अन्डा पार्नलाई चाहिने प्रोटिन उनीहरुले रगतबाट पाउँछन् । यसैगरी शक्ति प्राप्त गर्न भालेपोथी दुवैले फल र फूल चुस्छन् ।
तान्या डेप्की भन्छिन्, ‘रक्सी पिउने व्यक्तिलाई नै लामखुट्टेले मन पराउनुको कारण भने अचम्म लाग्दो छ ।’
जीनको कारण पनि आकर्षित हुन्छन् लामखुट्टे
मानिसहरुको जीनको कारण पनि लामखुट्टे आकर्षिक हुन्छन् । विश्वको जनसंख्याको पाचौं हिस्साको जीनमा यस्तो चिज हुन्छ, जसबाट लामखुट्टे मानिसहरुप्रति आकर्षित हुन्छन् ।
त्यसमध्ये एक कारण हो ‘ओ ब्लड ग्रुप’ । अन्यको तुलनामा ‘ओ’ रगत समूह भएका व्यक्तिलाई लामखुट्टेले टोक्ने आशंका दुई गुणा बढी हुन्छ ।
शरीरको तापक्रम बढी भएका कारण पनि लामखुट्टे मानिसहरुप्रति आकर्षित हुन्छन् । गर्भवती महिलालाई पनि लामखुट्टेले बढी टोक्छन् । जुन व्यक्तिले गहिरो स्वास छाड्छ त्यसलाई पनि लामखुट्टेले बढी टोक्छ । किनभने उसले कार्बनडाइअक्साइड ग्यास छोड्छ र यसबाट मानिस भएको पत्तो पाउँछ लामखुट्टेले ।
लामखुट्टेका अलग अलग प्रजातिले शरीरको अलग अलग हिस्सामा टोक्छन् । कुनैले खुट्टामा, कुनैले पन्जामा, कुनैले गर्धनमा टोक्छन् । कुनैले चाहिँ अनुहारमा पनि टोक्छन् । शायद उनीहरुले मानिसको नाक र मुखबाट निस्कने कार्बनडाइअक्साइड सुँघ्दै त्यहाँ पुगेका हुनसक्छन् ।
तान्या भन्छिन्, ‘म कोस्टारिका गएको बेला लामखुट्टेले मेरो पैतालामा टोके । यो कसरी सम्भव भयो ?’
रक्सीबाट निस्किने एथेनोलले पनि यसैगरी लामखुट्टेलाई मानिसतर्फ आकर्षित गर्दछ । जब हामी रक्सी पिउँछौं, हाम्रो पसिनासँगै थोरै मात्रामा एथेनोल पनि निस्किन्छ । लामखुट्टे यसको गन्धबाट मानिसहरुसम्म पुग्छ ।
सन् २०१० मा बुर्किना फासोमा गरिएको एक अध्ययनबाट रक्सी वा बियर पिएपछि लामखुट्टेले बढी टोक्ने गरेको निष्कर्ष निस्किएको थियो ।
तान्या भन्छिन्, ‘यदि तपाईं भोकै भौंतारिरहनु भएको छ भने तपाईंको कदम पनि आफसेआफ त्यही दिशातिर लम्किन्छ जताबाट खानाको बास्ना आइरहेको छ । यसैगरी एथेनोलबाट पनि लामखुट्टेले संकेत पाउँछ कि आसपास उसको भोजन छ ।’
लामखुट्टेको टोकाइबाट बच्न लागि के गर्ने ?
गर्मी बढने क्रम सँगै लामखुट्टे पनि बढीरहेका छन् । लामखुट्टेको टोकाईले निरन्तर चिलाउने समस्या मात्र होइन यसले मलेरिया, इन्सेफलाइटिस र डेंगु जस्ता महामारी रोगहरु फैलाउने चिकित्सकहरुले बताएका छन् ।
चिकित्सकहरुका अनुसार रातमा लामखुट्टेको देख्ने क्षमतामा अत्याधिक वृद्धि हुन्छ । अझ भूकम्पका त्रासले चौर, सडक छेउ तथा घरको बरन्डामा सुत्नेहरुलाई लामखुट्टेले हैरानै पारेको छ ।
लामखुट्टेको टोकाइबाट बच्न लागि के गर्ने ?
१.सामान्यतया लामखुट्टे पानी जम्ने खाल्डाखुल्डी भए बढी मात्रामा फैलिन्छ। यस्तोमा लामखुट्टेले अण्डा पर्ने र बच्चा हुर्काउने भएका कारण यस्ता खाल्डाखुल्डीहरु पुर्नुपर्छ।
२. सयपत्री, तुलसी, पुदिना, लेमन ग्रास, लसुन, ब्रम्हबुटी आदी प्राकृतिक रुपमा लामखुट्टे भगाउने विरुवाहरु हुन् । यसमा भएको वासनाले लामखुट्टे भाग्ने हुनाले घरको छेउछाउ वा गमला मै भएपनि यस्ता विरुवाहरु रोप्नु राम्रो हुन्छ।
३. त्यस्तै लामखुट्टे फोहोरमा बढी फैलने हुँदा सकेसम्म आफ्नो घरआँगन सफा राख्ने। त्यस्तै कुनाकाप्चा तथा र अँध्यारो ठाउँमा लामखुट्टे बस्ने हुनाले यस्तो ठाउँ सफा र खुला राख्नु पर्छ।
४.गर्मी याममा लामखुट्टेबाट जोगिन घर वरिपरिको सरफाइमा ध्यान दिनुपर्छ । फोहोर तथा पानी जम्ने खाल्डा भए त्यहीबाट मच्छड फैलने डर हुन्छ ।
५. नरिवल तथा नीमको तेलको मिश्रण बनाएर त्यसको दियो बाल्नुपर्छ । यसबाट पनि लामखुट्टेको समस्याबाट मुक्त हुन सकिन्छ ।
६.लामखुट्टेको टोकाईबाट बच्न भटामास, तोरी, नीम आदिको तेल शरीरको खुल्ला भागमा लगाउनाले र लसुनको खानाले पनि सहयोग पुर्याउँछ ।
७..यस बाहेक झुल लगाउने, हलुका रंगका पुरा बाहुला भएका कपडाहरु लगाउने, साँझमा झ्याल ढोका लगाउने भनेको थाहा भएको कुराहरु हुन् ।
कस्ता व्यक्तिलाई लामखुट्टेले धेरै टोक्छ ?
१. ओ (o) ब्लड ग्रुप भएको मानिसप्रति बढी आकर्षित हुन्छन् । चाखलाग्दो कुरा त, हाम्रो शरीरबाट हरेक ब्लड ग्रुरुप को छुट्टाछुटै तरंग निकाल्ने गर्दछ ।
२. कार्बोनडाईअक्साइड बढी निकाल्ने व्यक्तिप्रति लामखुट्टे बढी आकर्षित हुन्छन् । बढी मात्रामा बयस्क तथा गर्भवती महिलाबाट कार्बोनडाईअक्साइड निक्लने भएकोले बच्चाहरु भन्दा ती वर्गका मानिसहरुलाई बढी लामखुट्टेले टोक्ने गर्दछ ।
३. बढी पसिना निकल्ने वा निकाल्ने व्यक्तिलाई लामखुट्टे बढी टोक्ने गर्छ । ल्याक्टित एसिड, युरिक एसिड, एमोनिया जस्ता रसायनहरु पसिनामा हुने भएकोले लामखुट्टे बढी आकर्षित हुने गरेको हो ।
४. छालामा कोलेस्ट्रोल बढी भएमा लामखुट्टेले बढी टोक्ने गर्छ । छालामा कोलेस्ट्रोल हुने भन्नाले शरीरमा बढी भएर भएको नभई शरीरले बढी कोलेस्ट्रोल प्रोसेसिङ्ग गर्दा छालामा रहन गएको हो ।
५. जाँडरक्सी खाने मानिसमा पनि लामखुट्टे आकर्षित हुने गरेको छ ।



