पूर्वी नवलपरासीमा असिना पानीसहित आएको हावाहुरीले दर्जनौं घरहरुमा क्षति पुर्याएको छ । यद्यपि, मानवीय क्षति भने भएको छैन ।
सोमबार रातिको असिना पानीसहितको हुरीले देवचुली नगरपालिकामा बढी असर पुर्याएको छ । देवचुली नगरपालिकाकी उपप्रमुख पार्वती तिवारीले हावाहुरीबाट मानवीय क्षति नभए पनि घरहरुमा क्षति पुगेको जानकारी दिएकी छन् । नगरपालिकाका कतिपय घर बस्नै नमिल्ने गरी भत्किएको उनले बताएकी छन् ।
दर्जनौं घरमा क्षति पुगे पनि हुरीले पुर्याएको क्षतिको यकिन तथ्याङ्क आइनसकेको प्रहरीले जनाएको छ । हुरीले ठाउँठाउँमा बिजुलीको पोल, रुख ढालिदिएको छ । यसले विद्युत तथा सवारी आवागमन प्रभावित भएको छ । देवचुली आधारभूत विद्यालय र भीमसेन माविलगायत केही विद्यालयको छानो पनि हावाले उडाई दिएको छ ।
हुरीको असर देवचुली नगरपालिकाको ६, ७, ८, ९, ११, १२ र १४ वडामा परेको छ । तर, यीमध्ये सबैभन्दा बढी असर वडा नं। ७ मा देखिएको छ । हुरीसँगै आएको असिना पानीले किसानका तरकारीलगायतका बालीमा पनि नोक्सानी पुगेको छ । हुरीले यस वर्ष तराईका जिल्लामा असर पुर्याएको छ । यसअघि बारामा आएको हुरीले ठूलो जनधनको क्षति भएको थियो । नयपेज बाट साभार










