काठमाडाैं। सडकमा छाडा छोडिएका राष्ट्रिय जनावर गाई बाच्छालाई एकत्रित गरेर खानपिनसहित संरक्षण गर्ने अभियान शुरु भएको छ।
कागेश्वरी मनोहरा नगरापालिकास्थित त्रिभुवन विमानस्थलको उत्तरतर्फको खुला मैदानमा करीब दुई दर्जन गाई बाच्छा जम्मा गरी संरक्षण शुरु गरिएको हो। यसरी जम्मा गरिएका गाई बाच्छालाई नून पानी खुवाएर आँत रसिलो बनाए पनि ओतको व्यवस्था गर्नका लागि प्रयास भइरहेको जनाइएको छ।
वाग्मतीको किनारमै घाँसे मैदानसमेत रहेकाले गाई बाच्छालाई चरनको व्यवस्था पनि भएको छ । यसरी जम्मा गरिएका गाई बाच्छालाई स्वतःस्फूर्त रुपमा दाताले खानेकुराको व्यवस्था गर्न थालेका छन् । बिहान सबेरै गोठाटारबाट कृष्णप्रसाद चापागाईं सख्खर बोकेर आए। राष्ट्रिय जनावरका रुपमा सम्मान गरिने र लक्ष्मी माताका रुपमा पूजा गरिने गाई बाच्छा सडकमा भौँतारिएर बिजोग अवस्थामा पुगेको थाहा पाएपछि संरक्षणका लागि भएको प्रयासमा आफूले थोरै सहयोग गरेको उनले सुनाए।
गोकर्णेश्वर नगरपालिकाको माकलबारीबाट विनित अर्याल बोराभरि हरिया तरकारी लिएर आए। कागेश्वरी मनोहरा नगरपालिकामा फोहरमैला व्यवस्थापनसम्बन्धी काममा संलग्न रहेका रवीन भट्टराई पाँच किलो ढुटो र नूनसहित बाच्छाबाच्छीलाई पानी खुवाउने स्थलमा देखिए। जेठ १ गतेदेखि अभियानकर्मी नित्य कर्मका रुपमा बाच्छाबाच्छीलाई पानी खुवाउन सक्रिय हुने गरेको यसको नेतृत्व गरिरहेका मानव अधिकारकर्मी उत्तम पुडासैनीले बताए।
“बाच्छाहरु हामीलाई पर्खेर बसिरहेका हुन्छन्, दुई दर्जन बाच्छा आँत भरिने गरी पानी पिउन पाउँदा खुशी देखिन्छन्, यो सेवामुखी कामप्रति मानिसका चासो र चिन्ता पनि बढ्न थालेको छ, वर्षाको समय शुरु हुन लागेकाले यी गाई बाच्छाका लागि बास बनाउनु चुनौतीपूर्ण छ, त्योभन्दा बढी चुनौती त यो समस्याप्रति नीति निर्माताको ध्यानाकर्षण गराउनु आवश्यक बनेको छ”, उनले भने।
गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकामा अहिले पनि धेरै गाई पालिएका छन्। गाईको बाच्छी जन्मिए घरमै राख्ने र बाच्छा जन्मिए अलि ठूलो भएपछि वाग्मती किनार, खुला सडकलगायत स्थानमा लगेर छोडिदिने समस्या मौलाएको छ। प्राणीको न्यायका पक्षमा नैतिक तथा कानूनी लडाइँ लड्ने सोचसहित अभियानकर्मी जुर्मुराएका छन्।
बेवारिसे अवस्थामा रहेका राष्ट्रिय जनावरको रक्षामा कुनै सम्झौता नगर्ने अभियानकर्मीको प्रतिबद्धता छ। असारे झरीको सामना गर्नुपूर्व नै कम्तीमा पानी थेग्ने ओतको व्यवस्था गर्ने कामलाई अभियानकर्मीले मूल लक्ष्य बनाएका छन्। हाललाई सरकारी स्वामित्वमा रहेको कुनै पनि जग्गालाई आधार मान्दै अस्थायी आश्रयस्थल निर्माणको सोच अघि बढाइएको छ।
जेठ १ गते सडकबाट उद्धार गरी ल्याइएको धेरै बाच्छा अशक्त थिए । आठ दिनसम्म खानपिनको व्यवस्थापछि तङ्ग्रिएका छन्। शुरुमा घिच्याएर पानी खाने ठाउँसम्म लैजानुपर्ने अवस्थाबाट अहिले आफैँ जान सक्ने भएका छन्। शरीरमा शक्ति भरिएपछि बाच्छाहरु एकापसमा जुध्न र खेल्न थालेका छन् । विस्तारै प्राण भरिन थालेको अनुभूति हुन थालेको शुरुको दिनदेखि बाच्छाको हेरचाहमा लागेका अभियानकर्मी बताउँछन्।
आश्रयस्थल निर्माणका लागि सहयोगी हातहरु पनि जुर्मुराउन थालेका छन्। बाच्छाबाच्छीका लागि ३२ केजी मकैकोे पीठोको व्यवस्थासहित आउनुभएका स्थानीय शम्भु पुडासैनी राष्ट्रिय जनावर भनी सम्मान गरिने र गौमाताका रुपमा पूजा गर्नेले पनि सडकमा बाच्छा छोड्ने गरेको आफ्ना आँखाले देखेको सुनाउँछन्। गाईको दूध खाने तर बाच्छालाई सडकमा छोडेर बेवारिसे बनाइरहेको हेर्दा मानिसमा मानवीय संवेदना हराउन थालेको अनुभव हुन लागेको उनले बताए।
यसका लागि कानूनी व्यवस्था नै गर्नुपर्ने अभियानकर्मीको माग छ। गाई बाच्छा संरक्षण अभियानले यसअघि गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकामा ज्ञापनपत्र बुझाउँदै खुला ठाउँमा लगेर छोड्ने काम बन्द गराउन कानूनी एवं नीतिगत व्यवस्था गर्न माग गरेका थिए तर दुवै नगरपालिकाले बेवास्ता गरेका छन्।
गाउँ ठाउँमा पुगेका स्थानीय सरकारले नसुने पनि सहयोग गर्न चाहनेको सङ्ख्या थपिँदै गएको छ। जन्मदिनलगायत विशेष समारोहका बेला मानिस गाई बाच्छाका लागि केही लिएर आउन थालेका छन्। गाई बाच्छाका लागि पानी खुवाउने काममा पनि स्वयंसेवी सक्रिय हुन थालेका छन्।
त्रिभुवन विमानस्थल निर्माण हुनुअघि गौचरणका रुपमा रहेको चौरमा हजारौँ गाई चर्थे। पशुपतिनाथको गुठीका रुपमा रहेको सो जग्गामा विमानस्थल बनेसँगै गाई चर्ने चरणको अभाव भयो। त्यसपछि मानिसले घरमै बाँधेर वा साना चरणमा चराउन थाले । यता कालोपुलसँगैको सानो गौचरणमा पनि खेलमैदान बन्यो।
मानिसले आफूले उपयोग गरिरहेको स्थान कसैले अतिक्रमण गरे विरोध गर्छन् तर यी अबोध प्राणीका पक्षमा बोलिदिने कसले भन्ने प्रश्न जीवन्त बन्न थालेको छ। बाच्छा संरक्षण अभियानले भने जुनसुकै स्थानमा छाडा छोडिएका बाच्छा गोठाटारस्थित संरक्षण स्थलमा पुर्याइदिए, त्यसका लागि सकेको गर्ने वाचा गरेको छ। रासस










