विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित खोर्साने–केराबारी सडक खण्डमा टिपरको ठक्करबाट बिहीबार एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परेर केराबारी गाउँपालिका–९ का ४८ वर्षीय बमबहादुर बस्नेतको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए । उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १ ख ४३५५ नम्बरको टिपरले विपरित दिशाबाट जाँदै गरेको को ५ प ५५०० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ठक्करबाट गम्भीर घाइते मोटरसाइकल चालक बस्नेतको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको डीएसपी श्रेष्ठको भनाइ छ ।

उनका अनुसार टिपर र चालक धनुषा पुस्कलपुरका ३१ वर्षीय राजकुमार मगरलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ ।

घटनाको विरोधमा स्थानीय बासिन्दाले खोर्साने–केराबारी सडक खण्ड र पूर्व–पश्चिम राजमार्ग बन्दको प्रयास गरेका थिए । ठूलो संख्यामा प्रहरी परिचालन गरेर सडक भने बन्द गर्न नदिइएको जनाइएको छ ।