इटहरी । सार्वजनिक खोला कसैले पनि अतिक्रमण गर्न पाउदैन तर विराटनगर महानगरपालिकासंग सीमा जोडिएको कटहरी गाँउपालिका वडा नं.१ मा सिंघिया खोला मिचेर भुमाफियाहरुले जग्गा जोडेका छन् ।
सार्वजनिक जग्गा मिच्नेलाई कारवाही गर्नुपर्ने माग बढिरहेको बेला खोला उकास गरेर नै भुमाफियाहरुले जग्गा जोड्दा समेत स्थानीय सरकारहरु मौन बसेका छन् । स्थानीयहरुले खोलामा पर्खाल लगाउदा देखि नै विरोध गर्दै स्थानिय निकायमा उजुरी समेत दिइसकेका छन् । तर अहिलेसम्म कसैले सुनुवाई गरेको छैन ।
विराटनगर महानगरपालिका र कटहरी गाँउपालिकाको सीमामा रहेको सिंगिया खोलामा रिटेनिङ वाल लगाएर करिब ४ मिटर खोला मिचिएकाले यस वर्षको वाढीले विराटनगर महानगरपालिकातर्फका सुकुम्बासीको उठीबास लगाउने निश्चित भएको स्थानीयवासीको भनाइ छ ।
सार्वजनिक जग्गा मिचिएको गुनासो आईरहेको बेला विराटनगर महानगरपालिका भित्र सार्वजनिक जग्गा कति छ भन्ने अहिले सम्म तथ्यांक नै छैन । सार्वजनिक जग्गा खोजी गर्न करिब ५ महिना अघि मेयरको नेतृत्वमा समिति गठन गरिएको र कुनै पनि सार्वजनिक जग्गा सार्वजनिक हितमा बाहेक कसैलाई प्रयोग गर्न नदिने विराटनगर महानगरपालिकाका प्रवक्ता उद्धव अर्यालले जानकारी दिनुभयो ।
सरकारले सार्वजनिक जग्गा, गुठी र गैरसरकारी संघ संस्थाको जग्गा किनबेच र नामसारी रोक्न निर्देशन दिएसंगै मोरङमा सार्वजनिक जग्गाको लगत लिने कार्य शुरु गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिनुभयो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले सार्वजनिक जग्गाको संरक्षण र रेखदेख गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यालयबाट सारेर स्थानीय तहलाई दिइएपछि मोरङमा सार्वजनिक जग्गामा अतिक्रमण गर्ने क्रम बढ्दै गएको पाइएको छ । यसैले सार्वजनिक जग्गाको रेखदेख र संरक्षण गर्ने जिम्मेवारी स्थानीय तहबाट सारेर जिल्ला प्र्रशासन कार्यालयलाई दिन स्थानीयहरुले आग्रह गरेका छन् ।न्युज २४ नेपाल डट टिभी बाट साभार गरिएको










