स्त्री होस् या पुरुष । कसैले पनि चारवटा कर्म लुकाएर धेरै दिन बस्न सक्दैन । भनिन्छ: ‘एउटा झूट कुरा लुकाउन अरू सय झूट बोल्नुपर्छ !’ फेरि त्यहि झूटलाई पनि कहाँ धेरै दिनसम्म लुकाउन सकिन्छ र ?
आज जसरीतसरी सत्य कुरा लुकाइएला, तर कुनै न कुनै दिन त सत्य सामुन्ने आइनै हाल्छ । अनि जब घर–परिवार र समाजले त्यो सत्य कुरा थाहा पाउँछन्, तब सबैको सामुन्ने अपमानित हुनुपर्छ । तीतो नै किन नहोस् सत्य कुरा लुकाउँदा झन् कष्ट भोग्नुपर्ने हुन्छ । मानिस आफ्नो अधिकांश व्यक्तिगत कुराहरूलाई लुकाउन चाहन्छ । व्यक्तिगत कुरालगायत कुनै गलत काम गरेमा पनि सत्य कुरा बोल्ने हिम्मत गर्दैनन् । झूटको सहारा लिने गर्छन् ।
जुन चार कुरा कहिल्यै लुकाउन सकिन्न :
झूट: महाभारतमा कर्णले परशुरामसँग ‘म ब्राह्मण हुँ, भनेर झूट बोलेका थिए । परशुरामले पनि कर्णलाई ब्राह्मण नै सोचेर सबैप्रकारका शस्त्र–अस्त्रका ज्ञान दिए । तर एकदिन कर्ण ब्राह्मण होइनन् भन्ने थाहा पाएपछि ‘सबैभन्दा बढि आवश्यक परेको बेला सबै शस्त्र–अस्त्रको ज्ञान भुल्न परोस्’ भनेर परशुरामले कर्णलाई श्राप दिए । नभन्दै महाभारतको युद्धमा अर्जुनसँग युद्ध गर्ने बेलामा कर्णले ती सबै शस्त्रअस्त्रको ज्ञान बिर्सिए र अर्जुनकै हातबाट उनको मृत्यु भुयो ।
झूटले आफूलाई फाइदा गर्छ भनेर सोच्नु मूर्खता हो । यो पनि थाहा पाउनुपर्छ कि आफूले बोलेको झूटले सदैव आफैलाई धोका दिन्छ । अरूलाई असर गर्दैन ।
छल–कपट: दुर्योधन र उनका मामा शकुनीको धोका र छल–कपटकै कारण महाभारतको युद्ध भएको थियो, जहाँ आफ्नै दाजु–भाइको हत्या गर्नुपरेको थियो । कौरवहरूले पाण्डवहरूलाई पहिल्यैदेखि सताउने काम गर्दथे, छल–कपटको सिकार बनाउथे । अन्त्यमा पाण्डवहरूकै हातबाट कौरवहरूको मृत्यु भयो ।
‘कर्म’ भनेको यस्तो कुरा हो, जसले तपाईँको हरेक कार्यलाई मध्यनजर गरिरहेको हुन्छ । तपाईँले राम्रो काम गर्नुभएको छ भने नतिजा पनि राम्रै आउँछ । तर गलत कामको फल कहिल्यै पनि राम्रो हुँदैन । यहि नै कर्मको कर्तव्य हो । फेरि छल–कपटलाई पनि धेरै समयसम्म लुकाएर राख्न सकिँदैन । एक न एक दिन त्यसको नतिजा आफैँले भोग्नैपर्ने हुन्छ ।
हत्या: समाचारमा पनि सुनिन्छ ‘यति वर्ष अघि फरार, बलात्कारी, हत्यार पक्राउ’, ‘आफ्नै बुवाको हत्या गरी फरार हुने पक्राउ’जस्ता समाचार । कसैले जतिसुकै योजना बनाऊन्, हत्या गरेर लुकाउनको लागि !
समय आएपछि एकदिन हत्यारालाई सजाय अवश्य मिल्छ । जसरी तपाईँको जीवन अमूल्य छ, त्यसरी नै सबै प्राणीको जीवन अमूल्य हुन्छ । कसैको हत्या गर्नुलाई शास्त्रमा ‘अक्षम्य पाप’ भनिन्छ । ‘अक्षम्य’ भनेको क्षमा गर्नै नसकिने । हो हत्याराले पनि क्षमा पाउँदैन ।
अहंकार : जुन व्यक्ति अहंकारी (घमण्डी) हुन्छ, ऊ आफ्नो घमण्डको लागि कुनै पनि कुकर्म गर्न तयार हुन सक्छ । तर आफूलाई सज्जन सावित गर्न उसले जतिसुकै प्रयास गरोस्, एकदिन उसको अहंकार सबैको सामुन्ने प्रकट भएरै छाड्छ । उदाहरणको लागि रावणलाई लिन सकिन्छ । दुर्योधनलाई हेर्न सकिन्छ ।
उनीहरूले आफ्नो शक्तिको घमण्ड गरेकै कारण अन्त्यमा नष्ट भएर जानुपरेको थियो ।
एकदिन पाण्डव भिमलाई आफ्नो शक्तिप्रति घमण्ड जागेको थियो । तर हनुमानको अमृत वाणीका कारण उनले आफ्नो घमण्ड त्यागेका थिए ।



