कति रुपैयाँ बढ्ने यकिन नभए पनि यस पटकको बजेटमा वृद्धभत्ता वृद्धि हुने निश्चितजस्तै भएको छ । वाम घोषणापत्रमा वृद्धभत्ता ५ हजार रुपैयाँ पुर्याउने घोषणा गरिएको तर निर्वाचित सरकारको पहिलो बजेट अनुदार भएको भन्दै आलोचना भएको थियो । सांसदलाई बजेट र वृद्धभत्ता नबढेको भन्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल तथा अन्य शीर्ष नेताले अर्थमन्त्रीको खुलेरै आलोचनासमेत गरे ।
नेकपा अध्यक्ष दाहालले भारत भ्रमणक्रममा अर्थमन्त्री फेरेर भए पनि वृद्धभत्ता बढाउने घोषणा गरेका थिए । यो दबाब थेग्न प्रधानमन्त्री केपी ओलीले गत वैशाख १ गते वृद्धभत्ता बढाउने घोषणा गरिसकेका छन् ।
ज्येष्ठ नागरिक स्वास्थ्य बिमा र सबै नेपालीलाई बैंक खाता कार्यक्रमको उद्घाटन समारोहमा ओलीले ‘अर्थमन्त्री यहीँ हुनुहुन्छ, बजेट नआई भन्न त नमिल्ने हो तर वृद्धभत्ता बढ्छ’ भनेका थिए । हाल २४ लाख ९८ हजार ५ सय ३२ ले सामाजिक सुरक्षाभत्ता पाउँदै आएका छन् ।
यसमध्ये ११ लाख १२ हजार ५७ जना ज्येष्ठ नागरिकले स्वास्थ्य खर्चसहित २ हजार रुपैयाँका दरले वृद्धभत्ता पाउँछन् । बाँकी करिब १ लाख ज्येष्ठ नागरिकले स्वास्थ्य खर्चबाहेक १ हजार रुपैयाँका दरले भत्ता पाउँछन् ।
पूर्ण अपांगता भएका साढे ३९ हजार र लोपोन्मुख साढे २४ हजार आदिवासी जनजातिले २ हजारका दरले सामाजिक सुरक्षाभत्ता बुझ्दै आएका छन् । आंशिक अपांगता भएका र केही बालबालिकालाई क्रमशः ६ सय र ४ सय रुपैयाँका दरले भत्ता वितरण गरिएको छ ।
यी सबै सामाजिक सुरक्षाभत्तामा करिब ३३ अर्ब रुपैयाँ खर्च हुने गरेको छ । कम्तीमा पनि १ हजार रुपैयाँका दरले भत्ता वृद्धि गरिए ३ देखि ४ अर्ब रुपैयाँ थप खर्च गर्नुपर्ने हुन्छ । ‘अर्थमन्त्री पनि भत्ता बढाउने विषयमा राजी भइसक्नुभएको जस्तो देखिन्छ,’ अर्थका अधिकारीले भने । देशको न्यूज बाट साभार










