बुटवल । वरिपरि काँडेतार । चारैतिरको पोष्टमा हतियारसहितका प्रहरी । प्रवेशद्वारमा फलामे ढोका । डिउटीमा तैनाथ प्रहरीद्वारा कडा निगरानी । बहिरबाट हेर्दा कारागार– कारागारजस्तै देखिन्थो । जब त्यसभित्र पसियो, तब त्यहाँ अनुशासित र पौरखीहरुको बेग्लै संसार देखियो ।

जिल्ला कारागार गुल्मीको दृश्य थियो त्यो । जहाँ एक आश्रित बन्दी बालिकासहित ७० जना बन्दीहरुमध्ये दिशा-पिसाव गर्न गएकाहरु बाहेक कसैको पनि हात खाली थिएन । कारागारभित्रको दृश्य कुनै ठुलो उद्योग-धन्दा चलाउने कारखाना जस्तै लाग्दथ्यो । कसैले बाँस चिर्दै थिए । कसैले मुढा बुन्दै थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अर्को साइडमा धमाधम ढाका बुनाईको काम भ्याईनभ्याई थियो । अर्को ढोकाबाट छिरेपछि महिलाहरु कसैले कपडा सिलाउँदै त कसैले सुईटर बुन्दै थिए । भित्र पस्नुअघि त्यही कारागारबाहिरका स्वतन्त्र जीवन बिताइरहेका मानिसहरु कोही शीतल छहरीमुनी आराम गर्दै थिए । कोही होटल रेष्टुरेन्टतिर पस्दै थिए ।

स्वतन्त्र जीवन बिताएका मानिसहरु पछिल्लो चरण जुन पायो त्यही काम गर्न लजाउने गर्दा पनि बेरोजगारीको संख्या बढ्दै गएकाे तथ्य कारागारभित्र पुगेर ती बन्दीहरुको पौरख देख्दा स्पष्ट हुन्थ्यो ।

कैदी बन्दीहहरुले उत्पादन गरेका मुढाहरु र ढाकाका खास्टाहरुको चाङ थियो । बाँसका लोभलाख्दा आधुनिक घरायसी प्रयोजनका सामग्रीहरु बनाएर सजाइएको थियो । भित्र पसेका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले उनीहरुको मेहनत र परिश्रम देखेर उनीहरु सबैलाई हात जोडेर नमस्कार गरे ।

त्यस जिल्ला कारागारका प्रमुख अजुर्न थापाका अनुसार एउटी बालिका बाहेक ६९ जना सबैले रोजगारी पाएका छन् । थापा भन्छन्– ‘महिनामा एक हजारसम्म मुढा र दुई सय पिससम्म ढाका उत्पादन हुन्छ, प्रतिब्यक्ति महिनामा १० हजार सम्म कमाउन सक्छन् ।’

सम्मानित जीवनका लागि तालिम

प्रमुख जिल्ला अधिकारी पौड्यालले बिहीबारदेखि उनीहरुलाई सकारात्मक सोचको विकास गर्न मनोविज्ञान सम्बन्धी तालिम दिन सुरु गरिएको बताए । उनले बन्दी जीवनबाट मुक्त हुने अवस्थामा पुगेका करिव २७ जनालाई वाईरिङ्ग तालिम दिईने बताए । साथै महिलाहरुलाई सुईटर बुनाइसम्वन्धी गे्रडिङ्ग तालिम आईतबारदेखि दिन लागिएको जानकारी पनि दिए ।

उनीहरु समाजमा फर्किएर आत्मनिर्भर र सम्मानित जीवन जिउन सकून् भन्ने उद्देश्यका साथ विभिन्न तालिम दिन लागिएको प्र.जि.अ. पौड्यालको भनाई थियो ।उनले त्यहाँ उत्पादित वस्तुहरुको उचित ब्यवस्थापनको पहल पनि कारागार शाखा र प्रशासनले गर्दै आएको बताए । त्यहाँका बन्दीहरुले बाँसबाट परम्परागत डोका मात्र होईन, घरायसी प्रयोजनका आधुनिक सामग्रीहरु पनि बनाउने गरेका छन् ।

उत्पादनसँगै सकारात्मक जीवनको विकास

बन्दीहरु कसैले गाउँमै सिकेको नाम्ला-दाम्ला र डोरी बाट्ने काम पनि गर्दै आएका छन् । दिनभर कोही पनि खाली बस्नु नपरेपछि उनीहरुमा बाहिर छँदा भन्दा सकारात्मक जीवनको विकास हुँदै गएको कारागार प्रमुख थापाको ठम्याई छ ।काममा ब्यस्त सबै बन्दीहरुले एकै स्वरमा भन्दै थिए- ‘दैव, दशा वा नकारात्मक सोचका कारण कुनै दिन भूल गरेर सजायको भागिदार भए पनि बन्दी जीवन बिताउन थालेपछि सकारारत्मक सोच आउन र केही राम्रो काम गरेर देखाउँ भन्ने जोस जाग्न थालेको छ ।’ कैदी-बन्दीहरुलाई हेय र घृणाको दृष्टिले नहेर्न समेत उनीहरुकाे आग्रह थियाे ।

कारागारमा रहेका ६९ जना मध्ये चार जना महिला छन् । ती मध्ये एउटी कर्तव्य ज्यान मुद्दामा तीन वर्षदेखि कारावास सजाय भोग्दै गरेकी महिलाकी साढे चार बर्षिया छोरी आमासँगै बस्दै आएकी छन् । उनलाई रेसुङ्गा नगरपालिकाका मेयर अभिभावक बनेर महेन्द्र माध्यामिक विद्यालय तम्घासमा पढाउँदै आएका छन् । उनी हाल नर्सरी कक्षाकी उत्कृष्ट विद्यार्थी रहेको प्रधानध्यापक केशरबहादुर थापाले बताए ।news 24