मस्कट । ओमनमा दुई जना नेपाली युवतीको मृत्युु भएको छ । राजधानी मस्कटबाट करिब १ हजार किलोमिटर टाढा यहाँको पर्यटकीय शहर सललाहमा कार्यरत एक नेपाली युवतीको हत्या र अर्की एक युवतीको शंकास्पद मृत्यु भएको मस्कटस्थित नेपाली राजदूतावासले जनाएको छ ।

दूतावासका अनुसार सललाहमा कार्यरत लेटाङ–मोरङकी २५ वर्षीय अप्सरा दाहालको जेठ ३ गते हत्या भएको र बर्दियाकी २१ वर्षीय सुनिता सार्कीको रहस्यमय मृत्यु भएको हो । दुइवटै घटनाको अनुसन्धान कार्य भइरहेको दूतावासले जनाएको हो । मृतक दुवैजनाको शवलाई अल सुल्तान कावुस अस्पतालमा राखिएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घटना बारे थप बुझ्न दूतावासले श्रम सहचारीलाई सललाहमा पठाउने तयारी गरेको छ  । प्रहरीले अप्सरासँगै बस्दै आएका एक बंगालीलाई पक्राउ गरेको छ । २२ महिना अघि ओमन पुगेकी अप्सरा घरमालिक छोडेर बंगलीसँग बस्दै आएकी थिइन्। अप्सराको शरीरभरी चक्कु प्रहार भएको थियो। उनको उपचारको क्रममा अस्पतालमै ज्यान गएको हो।

सुनिता सार्कीलाई भने प्रहरीले आत्महत्या गरेको अवस्थामा फेला पारेको थियो। दुवै खुट्टाको घुँडाले जमिनमा टेकेको अवस्थामा झुन्डिएको अवस्थामा फेला परेपछि प्रहरीले गहिरो रुपमा छानबिन थालेको दूतावासले जनाएको छ। । घुँडाले भुईँ छोएकाले सुनिताको मृत्यु शङ्कास्पद देखिएको हो । प्रहरीले यसलाई निकै गम्भिरतापूर्वक छानबिन गरिरहेको छ ।

सार्की पनि बंगालीसँग बस्दै आएकी थिइन्। सुनिता मस्कटबाट भागेर सल्लाह पुगेकी हुन्। उनी भिजिट भिसामा ओमन आएकी थिइन्।। उनीसँगै बस्दै आएको बंगाली भने घटना हुनु एकसाता अगाडि नै बंगलादेश गइसकेको खुलेको छ।

प्रहरीले सुनिता झुन्डिएको कोठामा एक बंगाली महिलाको परिचयपत्र मात्रै फेला परेको थियो। त्यही आधारमा सुनिता बंगाली भएको अनुमान गरिदैँ आएको थियो। दूतावासले उनी नेपाली नै भएको भन्दै राहदानीको प्रतिलिपि प्रहरीलाई उपलब्ध गराएको छ ।

घटना बारे रोयल ओमन प्रहरीले अहिले गम्भिर तरिकाले छानबिन थालेको छ । अप्सरा दाहालको हत्यामा बंगालीकै संग्लनता रहेको पुष्टी भैसके पनि सुनिताको भने अहिले सम्म पुष्टी भैसकेको छैन। तर उनको शङ्कास्पद मृत्युमा पनि बंगालीकै संग्लनता रहेको आशंका गरिएको छ ।