काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको शपथग्रहण समारोहमा विदेशी नेताहरूको उपस्थिति रहने आकलन गरिएको छ । विदेशी नेताहरूलाई शपथग्रहण समारोहको निम्तो नपठाइएको भए पनि उनीहरूको मनसाय बुझ्न चाहिँ खोजिएको छ ।

सन् २०१४ मा मोदीको शपथग्रहण समारोहमा दक्षिण एसियाका सबै सात मुलुकका प्रमुख र मरिससका प्रमुखलाई बोलाइएको थियो ।
श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शपथग्रहण समारोहमा भाग लिने संकेत दिइसकेका छन् । उनको शपथग्रहण सम्भवतः बिहीवार हुनेछ ।
भुटान, माल्दिभ्स र अफगानिस्तानले पनि औपचारिक निम्तो नपाएको भए पनि आफ्ना देशका नेताहरू निम्तो पाएपछि समारोहमा आउने संकेत दिएका छन् ।
पाकिस्तानका प्रधानमन्त्री चाहिँ नआउने सम्भावना छ । सन् २०१४ मा विपक्षीहरूले विरोध गरेका भए पनि तत्कालीन प्रधानमन्त्री नवाज शरीफ मोदीको शपथग्रहण समारोहमा भाग लिन पुगेका थिए ।
सार्क बाहेक बिमस्कटेकका नेतालाई समेत मोदीले शपथग्रहणमा बोलाउने सम्भावना छ । भारतले थाइल्यान्डलाई यस विषयमा सोधेको भए पनि थाइ अधिकारीहरूले आफूहरू सरकार गठनको अभ्यासमा लागेको बताएका छन् ।
शपथग्रहणपछि मोदी अन्तर्राष्ट्रिय भ्रमणमा निस्कनेछन् ।
उनले किर्गिजस्तानको राजधानी बिश्केकमा जुन १३ देखि १४ सम्म शांघाई कोअपरेसन अर्गनाइजेसनको शिखर सम्मेलनमा भाग लिन जानेछन् । त्यसपछि जुन २८ देखि २९ सम्म जापानको ओसाकामा जी२० को शिखर सम्मेलनमा भाग लिन जानेछन् ।
ती ठाउँ जानुअघि मोदीले कुनै देशमा गएर द्विपक्षीय भ्रमण गर्ने कार्यक्रम छ । अघिल्लो कार्यकालमा उनले भुटानको भ्रमण गरेर विदेश भ्रमणको आरम्भ गरेका थिए । यसपालिको पहिलो भ्रमण पनि उनले भुटानमा गर्ने सम्भावना छ ।
एजेन्सी



