काठमाडौँ। राजधानीको अनामनगर र सुकेधारामा आइतबार अपराह्न ४.१५ बजे बम विस्फोट हुँदा तीनको मृत्यु भएको छ जना घाइते भएका छन्। विस्फोटमा परी मर्नेहरुमा बम बनाउने तथा राख्ने काममा संलग्न रहेका व्यक्तिहरु भएको बताइएको छ।

महानगरीय प्रहरी प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक श्याम ज्ञवालीका अनुसार, अनामनगर अप्काहाउस पछाडि सङ्गमगल्लीस्थित लोकमञ्जरी कार्कीको घरको भुइँतलामा भएको बम विस्फोटमा परी एकजनाको घटनास्थलमै मृत्यु हुनुका साथै एकजना घाइते भएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तैं, सुकेधारा ढलाने पुल नजिकै रहेको शैलुन पसलभित्र बम विस्फोट हुँदा दुईको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। प्रहरीका अनुसार, बम विस्फोटमा परी मर्नेमा एक जना ‘विप्लव’ समूहका कार्यकर्ता हुन्।

राजधानीका विभिन्न स्थानमा बम राख्ने योजना अनुसार, प्रेसर कुकरबम निर्माण गर्दै गरेको अवस्थामा अचानक बम पड्किएको हुनसक्ने अनुमान प्रहरीको छ।

प्रवक्ता ज्ञवालीका अनुसार, अनामनगरस्थित कोठामा बनाई राखेको बम कतै राख्न लैजान खोज्दा कोठाभित्रै पड्किएपछि प्रज्ज्वल शाहीको मृत्यु र रविन केसी घाइते भएका हुन्।

घाइते रविन केसी अखिल विप्लव समूह त्रिचन्द्र क्याम्पस इकाई अध्यक्ष हुन भने शाही सीटीईभीटीका विद्यार्थी नेता हुन्। घाइते केसीको ट्रमा सेन्टर वीर अस्पतालमा उपचार भइरहेको छ।

त्यस्तै, सुकेधारा बम विस्फोटमा परी मृत्यु भएका दुईजनाको पहिचान हुन सकेको छैन। त्यस्तै, नेवा मुक्ति मोर्चाका अध्यक्ष राजेन्द्र महर्जन घाइते भएकाले उपचारका लागि ओम अस्पताल पुर्याइएको छ।

सोही घटनामा परी उपचारका क्रममा ओम अस्पतालमा एकजनाको मृत्यु भएको छ तर, मृतकको पहिचान हुन सकेको छैन । राजधानीका विभिन्न स्थानमा बम विस्फोट गराउने योजना अनुसार, टाइम बम निर्माण गर्दागर्दै विस्फोट भएको हुनसक्ने भनाइ प्रहरीको छ।

अनामनगरस्थित विस्फोट भएको कोठाबाट विभिन्न दस्तावेज बरामद भएका छन् भने सुकेधारास्थित शैलुन पसलभित्र बसेर गफ गर्दै गरेको अवस्थामा झोलामा राखिएको प्रेसर कुकर बम विस्फोट भएको अनुमान गरिएको छ।

घाइते महर्जन यसअघि कमलादीस्थित आगमन रेष्टुराँ वाहिर बम राखी फरार भएको अभियोगमा प्रहरीको खोजी सूचीमा रहेका विप्लव कार्यकर्ता हुन्। यसैबीच नागढुङ्गा नजिकै ईंटाभट्टास्थित सडकमा बम विस्फोट हुँदा दुई जना घाइते भएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।

बम मोटरसाइकलमा राखी काठमाडौँ ल्याउने तयारी गर्दै गर्दा सो विस्फोट भएको प्रहरीले जनाएको छ। घाइते हुेनमा विक्रम लामा रहेको र निजको शही मेमोरियल अस्पताल बलम्बुमा उपचार भइरहेको छ। अर्को घाइतेको पहिचान खुल्न सकेको छैन ।गाेरखापत्र दैनिक