काठमाडौँ । नेत्रविक्रम चन्द समूहले आज आह्वान गरेको बन्दबाट विराटनगरमा आँशिक प्रभाव परेको छ। बन्दले शैक्षिक प्रतिष्ठान र औद्योगिक प्रतिष्ठान ठप्प छन् । बजारमा पसल खुला छन् । लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन्।
सडकमा जीप, कार, भ्यान, सिटीसफारी, मोरटरसाइकल, रिक्सा, साइकलजस्ता सवारीसाधन निर्वाधरुपमा चलिरहेका छन्।जिल्लामा कुनै अप्रिय घटना नभए पनि विराटनगर महानगरपालिका वडा नं ४ र १ को सिमानामा पर्ने पहडगछस्थित सडकको पूर्वतर्फ बिजुलीको खम्बा नजिक शङ्कास्पद् वस्तु फेला परेको प्रहरी उपरीक्षक मनोजकुमार केसीले बताए।
प्रेसरकुकरजस्तो देखिने प्लाष्टिक झोलामा रहेको सो वस्तु बम नै भएको प्रहरीको आशङ्का छ। आज बिहान प्रातः भ्रमणमा निस्केका स्थानीयवासीले सो वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले सो क्षेत्रलाई चारैतिरबाट घेरा हालेर सुरक्षा दिइरहेको छ। बम पहिचान गर्ने नेपाली सेनाका डिस्पोजल टोली आइनसकेको र अहिले सो क्षेत्रमा मानिसको भीड लागेको छ।










