पाचँथर / आरुबोटे बजारबाट करीब ३०० मिटर पर डाँडोमा सानो, चिटिक्क परेको कच्ची घर । घरको माथिल्लोपट्टि कच्ची सडक । तीनकोठे घरको अघिल्तिर सानो भान्साघर । मुनिपट्टि बाख्रा र कुखुराको खोर । घरको पल्लोपट्टि बाँसको टाटी र टिनले बनेका भुइँघर ।

घरअघि दाउराको लामो थाक ।भान्सा घरभन्दा मुनि पत–पत धुँवा आइरहेको, घर वरिपरि मानिसहरु बसेका । टाट्नोमा तीन वटा ठूलठूला खसी ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भान्साघर छेवैमा थुपारिएका बाँसमाथि खसीतर्फ हेरेर बसेका थिए, बमप्रसाद साम्पाङ राई । साम्पाङले गत सोमबार आफ्ना साथी धनराज शेर्माको घरबाट खसी लैजाने तयारी गर्नुभएको थियो तर उहाँ कारणावश आइपुग्न सक्नुभएन । त्यही सोमबार राति धनराजको पूरै परिवारको हत्या भयो । धनराज, साम्पाङका अत्यन्तै मिल्ने र पुरानो साथी थिए ।

धनराजको घरमा सामथ्र्यविहीन भएर बस्नुभएका साम्पाङ केही भन्न चाहे पनि भन्न सकिरहनुभएको थिएन । “जहिल्यै रबि आउँदा मलाई भेटेर मात्रै घर आउँथ्यो । कहिल्यै मलाई भेट्न छुटाएको याद छैन्”, साम्पाङले भन्नुभयो, “मेरो साथी जाँदा (हत्या हुँदा) मेरो मुटु चोइटिएको छ ।” चलचित्रमा देखेजस्तै गरी आफ्नो साथी गुमाउनुपर्दा मन स्थिर हुन नसकेको साम्पाङको भनाइ छ ।

गत सोमबार राति सामूहिक हत्यामा मारिएका पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेका धनराज शेर्मा स्थानीयवासीको आँखामा नबिझाउने मान्छे थिए । “ज्वाइँ त आँखामा नबिझाउने मान्छे थिए, हाम्रो समुदायमा उनीजस्तो मेहनत गर्ने मान्छे अझैसम्म भेटेको छैन्”, स्थानीयवासी बजिन्द्रप्रसाद फियाकले सम्झनुभयो, “यस्ता मान्छेलाई कुन बैरीले यतिसम्म गर्‍यो होला ?”

धनराज र उनकी श्रीमती जस्मिताले बर्खाभरका लागि आठ बोरा चामलको जोहो गरेको देखाउँदै स्थानीय अगुवा बजिन्द्रप्रसादले भन्नुभयो, “यस्तो बुद्धिमानी मान्छे, कहिल्यै खाली नबस्ने ।” स्थानीय अगुवाहरु तथा धनराजका आफन्तहरु धनराज र जस्मिताले बुनेका नयाँ मुढामा बसेका थिए । स्थानीय यामकुमारी फियाकले भन्नुभयो, “बेच्नलाई भनेर यत्ति राम्रा मुढा बनेका थिए । ढाका बुन्न सिकाउने जस्मिता आफैँ पनि ढाकाबाट घरव्यवहार चलाउने पैसा कमाउँथिन् ।” तर बीभत्स हत्यापछि यो मेहनती परिवार अब स्थानीयवासीको स्मृतिमा मात्रै सीमित भएको छ ।

सोमबार राति शेर्मा दम्पतिसँगै उनीहरुका दुई छोरी १२ वर्षीया युहाना शेर्मा र १० वर्षीया मुना शेर्मा तथा धनराजका भाइकी छोरी ८ वर्षीया इक्सा शेर्माको बीभत्स हत्या भएको थियो । धनराजका ससुरा ७४ वर्षीय बमबहादुर फियाक, सासू ७५ वर्षीया फुर्चिमाया फियाक, उनकी कान्छी साली २६ वर्षीया मनकुमारी फियाक (माखिम) र साइली, सालीकी छोरी १० वर्षीया आशिका खजुमको हत्या भएको थियो ।

हत्यामा शेर्माका कान्छा साढुभाइ मानबहादुर माखिमको संलग्नता देखिएको प्रहरीको भनाइ छ । सामूहिक हत्यापछि मानबहादुरले समेत झुण्डिएर आत्महत्या गरेका थिए । प्रहरीले स्थलगत रुपमा हत्याको विस्तृत अनुसन्धान सम्पन्न गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीसमेत अनुसन्धानमा खटिएको थियो ।