पुष्पराज अधिकारी हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ सिस्नेरीको कोगटेखोला नजिक कुइन्टारमा गुडिरहेको ट्रकमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।

बाग्मतीको पानी प्रयोग गरी विधुत उत्पादनको तयारीमा रहेको सिस्नेरीमा रहेको माण्डु हाइड्रोपावरका लागि ट्रान्समिटर बोकेर आयोजनास्थलतर्फ जाँदै गरेको ना ७ ख ९३२६ नम्बरको ट्रिलरले ११ हजार भोल्टेजको हाइटेन्सन लाइनमा छुँदा करेन्ट सर्ट भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

टिलर सिस्नेरीको कुइन्टारमा बाटोमा रहेको पोलको तारमा ट्रान्समिटरले छोएपछि ड्राइभर र सहचालकलाई करेन्ट लागेको थियो । उनीहरुलाई बचाउन जाँदा जेसिबी चालकलाई समेत करेन्ट लागेको हो । चालकदलका दुबैजनाको मृत्यु उपचारको क्रममा भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर सिन्धुलीको तीनपाटन ९ बस्ने जेसिबी चालक २८ वर्षको बीरबहादुर मगर र नुवाकोटको बेलकोटगढी गाउँपालिका ७ का टिलर चालक ३५ वर्षीय विशाल तामाङले जीवन गुमाएको प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

घटनामा तीनपाटन ९ बस्ने २५ वर्षीय गोपाल रमौली र दाङ घर भइ ललितपुर बस्ने ४५ वर्षीय महेश बस्नेत घाइते भएका छन् । उनीहरुलाई अवस्था गम्भीर छ । उनीहरुलाई काठमाडौं लगिएको छ । जनता समाचार बाट साभार