काठमाडौं, १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले १० महिनाअघि कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा पत्ता नलाग्नुको कारण खुलाएका छन् ।

प्रधानमन्त्री ओलीले हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनामा स्वतन्त्रतापूर्वक छानबिन गर्न नपाइएका कारण अहिलेसम्म दोषीसामु पुग्न नसकिएको गुनासो गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राष्ट्रिय मानवअधिकार आयोगको स्थापना दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले उक्त घटनामा प्रहरीलाई स्वतन्त्रतापूर्वक काम गर्न नदिइएको बताएका छन् । ‘निर्मला पन्तको हत्याबारे आयोगले प्रधानमन्त्री कार्यालयमा विभिन्न निर्देशनात्मक पत्र पठाएको छ ।

हो, त्यो घटनामा प्रहरीबाट गल्ती भयो तर, प्रहरीलाई पनि प्रभावमा पारियो । स्वतन्त्र रूपले कहाँ छानबिन गर्न दिइयो !,’ प्रधानमन्त्रीले भने, ‘कहिले यता हुन्न भन्या छ, कहिले उसलाई छानबिन गर्न हुन्न भन्या छ । त्यस्तो अपराध गर्ने के सरकारको नियत हुन सक्छ ?’

उनले समाजमा त्यस्ता घटना होऊन् र नेपाल कलंकित बनोस् भन्ने सरकारको इच्छा हुन नसक्ने बताए । ‘त्यस्ता अपराधीलाई जसरी पनि खोजेर कार्बाही गरिन्छ तर सहज ढंगले कार्बाही गर्ने वातावरण नरहनु दुःखद कुरा हो,’ प्रधानमन्त्रीले भने, ‘त्यसमाथि टेकेर राजनीति गर्न खोज्नु र घटनाको संवेदनशीलतालाई उछालेर अरूतिर मोड्न खोज्नु विल्कुलै उचित होइन । यसले निष्पक्ष छानबिन हुन व्यवधान हुन्छ ।’

यस्ता घटनामा निष्पक्ष छानबिन गर्न नसक्ने गरी परिस्थिति सिर्जना गरे सरकारलाई गाह्रो पर्ने उनले बताएका छन् । उनले प्रहरी अनुसन्धानमा त्रुटी गर्नेलाई कार्बाही गरिएको पनि बताएका छन् । प्रधानमन्त्री ओलीले निर्मला बलात्कार–हत्या घटनामा मानवअधिकार आयोगले दिएका सुझावहरूलाई सरकारले लागू गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

कञ्चनपुरको महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मलाको गत वर्ष साउनमा बलात्कारपछि हत्या भएको थियो । घटनाको १० महिना बितिसक्दा पनि दोषी पत्ता लागेका छैनन् । अहिले पनि निर्मलाको हत्यारा पत्ता लगाई सजाय हुनुपर्ने भन्दै सरकारमाथि दवाव जारी छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हरेकजसो सदनको वैठकमा निर्मला हत्याको मुद्दालाई उठाउँदै आएको छ । नया पेज बाट साभार