झापा । नेपाली महिलालाई भारत हुँदै कुवेत पठाउन लागेको आरोपमा एक महिलासहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर ४ ज्ञानेचोक बस्ने ३१ वर्षीय मंगल सिंह लिम्बू, सोही वडाका फागुचोक बस्ने ३० मीना थापामगर र मेचीनगर १५ प्रगति टोल बस्ने ४५ वर्षीय मुलुकचन्द राजवंशी रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेश थापाले जानकारी दिए।

प्रहरीका अनुसार मोरङका दुई र झापाका एक गरी तीन जना महिलालाई साना हातहरू नेपाल नामक संस्थाका कर्मचारीले उद्धार गरी इलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाएका थिए। २२ देखि ३५ वर्ष उमेर समूहका तीनै जना महिला विवाहित हुन्। उद्धार गरिएको महिलाको तीनवटा पासपोर्ट पक्राउ परेका लिम्बूको साथबाट बरामद गरिएको डिएसपी थापाले जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘काँकडभिट्टा-पानीट्यांकी नाकाबाट ६ जना भारततर्फ गइरहेका थिए’, साना हातका भद्रपुर स्टेसन म्यानेजर विक्रम वाग्ले भने, ‘सीमा क्षेत्रमा तैनाथ कर्मचारीले सोधपुछ गर्दा वैदेशिक रोजगारीका लागि भारत जान लागेको खुलेपछि उनीहरूलाई नियन्त्रणमा लिएका हौँ।’

यता उद्धार गरिएका तीनै जना महिलालाई उनीहरूको परिवारजनलाई जिम्मा लगाइसकेको जनाइएको छ। पक्राउ परेका तीन जनालाई मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दा अदालतमा दर्ता गराइ थप अनुसन्धान गरिरहेको डिएसपी थापाको भनाई छ। महिला भारत हुँदै तेस्रो मुलुक पठाउने गहिरोका तीन जना पक्राउ परे पनि उनीहरूको मुख्य योजनाकार अझै पक्राउ परेको छैन। प्रहरीले योजनाकारहरूको खोजी कार्य तीव्र पारेको जनाइएको छ।