काठमाडौँ । सङ्खुवासभा-सीमावर्ती चीनको देन्दाङ शहरमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा मकालु गाउँपालिका–२ का अमरबहादुर खुम्बू रहेको प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिएका छन्।
खुम्बू चीन सरकारले निर्माण गर्दै गरेको नयाँ निकुञ्ज भवनमा काम गर्ने क्रममा करेन्ट लागेर उनी घाइते भएका थिए। खुम्बूलाई उपचारका लागि खाँदबारी ल्याउने क्रममा भोटखोला गाउँपालिका–१ मा आइपुग्दा आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ।
उनको खुम्बूको शवपरीक्षणका लागि हेलिकोप्टरबाट सोमबार जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ। उनको मृत्यु शङ्कास्पद भएको भन्दै निष्पक्ष छानबिन नभएसम्म शव नबुझ्ने परिवारको भनाइ छ।
खुम्बूको शरीरमा चोटपटक र नीलडाम देखिएकाले मृत्यु शङ्कास्पद भएको परिवारले जनाएको छ। त्यस्तै चीनको चङ्गा शहरको सडकमा काम गर्न गएका सभापोखरी गाउँपालिकाका–१ का मनिष गिरी घाइते भएका छन्।
सडकमा ढलान गर्ने क्रममा त्यहाँ रहेको उपकरणले उनको दाहिने हातको सबै औँला काटिएको र उपचारका लागि हेलिकोप्टरबाट जिल्ला अस्पताल खाँदबारी ल्याइएको प्रहरीले जनाएको छ।










